पूर्वडीआईजी कोइरालालाई रिहा गरेको विरुद्धमा महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकन जाने

काठमाण्डाै । श्रीमती हत्याको अभियोगमा जेल चलान भएका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालालाई पूर्ण सजाय नागरिकन रिहा गरेको विरुद्धमा महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकन जाने भएको छ ।

सजायमा छुट दिने सर्वोच्च अदालतको फैसला अनुसार पूर्वडीआईजी कोइरालालाई बिहीवार छुट्ने मिती तोकिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनकाे लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको र तुरुन्तै पुनरावलोकन जाने तयारी भएको महान्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी चन्द्रकुमार पोखरेलले जानकारी दिए ।

श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय भोगिरहेका कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गएको असार १५ गते आठ वर्ष ६ महिना मात्रै थुना बसे पुग्ने भन्दै थुनामुक्तको आदेश दिएपछि कोइराला बिहीबार बिहान थुनामुक्त भएका थिए ।

२०६८ साल माघ ८ गते नारायणगढबाट काठमाण्डौ आउँदै गर्दा कोइरालालाई थानकोटबाट पक्राउ गरी मुद्दा चलाइएको थियो ।

२०६८ पुस २७ गते रञ्जनले श्रीमती गीताको हत्या गरी मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर जलाएकाे प्रमाण भेटेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई जिल्ला र पुनरावेदन अदालतले जन्मकैद अर्थात् २० वर्षको कैद सजायको फैसला गरेको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले विभिन्न कारण देखाउदै साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको थियो ।

फैसलामा कोइरालाले श्रीमतीलाई तत्काल आवेगमा आइ हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा प्रभाव पर्ने भन्दै सजाय अवधि छोटो बनाइएको थियो ।

सम्बन्धित शिर्षकहरु