मन्त्री पद नपाएको झोकमा एमाले सांसद शाहीले दिए राजीनामा

सुर्खेत । प्रदेशसभामा मुगुबाट निर्वाचित एमाले सांसद चन्द्रबहादुर शाहीले सांसद पदबाट राजीनामा दिएका छन्। प्रदेश नम्बर ६ को सभामुख र मन्त्रीमा पार्टीले आफुलाई अवसर नदिएर अन्याय गरेको भन्दै उनले राजीनामा दिएका हुन्। सांसद शाहीले हुलाकमार्फत राजीनामा पत्र पठाएका छन्।

यसअघि सभामुखका लागि उनी आकांक्षी देखिन्थे । एमालेमा उनलाई सभामुख बनाउने चर्चा चलेपनि अन्तिममा उनले सभामुख पाएनन् । सभामुख नपाएपछि उनलाई मन्त्रिपरिषद्मा लैजाने भनेर आश्वासन दिईएको एमालेभित्र चर्चा छ । तर प्रदेश मन्त्रीपरिषद्मा पनि उनी समावेश हुने सकेनन्। पार्टीले आफुलाई हदैसम्मको अन्याय गरेको भन्दै
एमालेका केन्द्रीय सल्लाकारसमेत रहेका शाहीले पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिएको बताएका छन् ।

नवप्रवेशी र पैसावालहरुसँग आर्थिक चलखेल गरेर आफुलाई अन्याय गरेको उनको आरोप छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने शाही यसअघि २०५६ को संसदीय निर्वाचनमा पनि निर्वाचित भएका थिए। मुगुमा एमालेबाट चुनाव जित्ने शाही पहिलो व्यक्ति हुन् । उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने हाल सल्लाहकार छन् ।

२०४२ सालमा जेल परेपछि पार्टीको पूर्णकालिन राजनीतिमा लागेका शाही १५ वर्षसम्म मुगुमा एमालेको पार्टी प्रमुख भएर काम गरेका थिए ।

सम्बन्धित शिर्षकहरु