पहिरोले नवलपरासीमा दुई वेपत्ता, धादिङमा तीनको मृत्यु

नवलपरासी । केही दिनदेखि देशका विभिन्न भागमा अविरल वर्षा भइरहेकाे कारण खसेको पहिरोमा परि नवलपुरको बुलिङटार गाउँपालिका-२ डाँडाझेरीका दुई जना बेपत्ता भएका छन् ।

गएराति गएको पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खिनमाया नेपाली पहिरोमा पुरिएर बेपत्ता भएको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए ।

पहिरोमा पुरिएर बेपत्ता भएका दुवै जनाको स्थानीयको सक्रियतामा खोजी कार्य जारी रहेको अध्यक्ष बस्ताकोटीले बताए ।

उनका अनुसार पहिरोका कारण गाइबस्तुहरु पनि पुरिएका छन् ।

घटनास्थलमा उद्धारका लागि अहिले ईलाका प्रहरी कार्यालय बुलिङटारको टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

यस्तै गएराति विनयी त्रिवेणी गाउँपालिका -४, मा दुम्किबासबाट विपरीत दिशातर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको पिकअप खहरे खोलाले बगाएको छ । पिकअप बगाए पनि मानवीय क्षती भने नभएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

त्यसै गरी पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका-६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

सम्बन्धित शिर्षकहरु