असनेपालन्युज डट कम । “मार” भनेको शत्रु हो । यसलाई राक्षस वा बाधा भनेर पनि चिनिन्छ । यो आफ्नै आत्मग्राहको उपज हो अर्थात कर्मक्लेश र अज्ञानताका कारण उत्पन्न भएका हुन् । जवसम्म मनमा क्लेश बोकिरहन्छ तबसम्म शत्रु पनि आफैले आफैभित्र बोकिरहन्छ । साथै जब सम्म राग, द्वेष, मोह, माया र बन्धनले बाँधिरहन्छ तबसम्म मारले हामिलाई सताईरहन्छ ।
क्लेशआवरण र ज्ञेयआवरण दुबै निर्मुल नपारे सम्म बुद्धत्व प्राप्त गर्न सकिदैन तव सम्म मारको बशमा परिरहन्छ । यसलाई नष्ट गर्ने उपाय भनेको पुदगल नैरात्म (म) र धर्मनैरात्म (मेरो) को भावनाबाट पूर्णरूपमा पार भए मात्र मारको शिकार बाट मुक्त भईन्छ ।
मार चार प्रकारका छन् । १. देवपुत्रमार २.मृत्युपतिमार ३.क्लेशमार ४.स्कन्धमार
१) देवपुत्रमार (ल्हाईबु दु) वर्ण सेतो, दिशा पूर्व
―» एकाग्र चित्त भई कुशल कर्म तथा धार्मिक सद्कर्म गर्दा मनमा अनेक कामराग, ईच्छा,तृष्णा र रमाईलोपनले मनलाई विचलित बनाई कुशलकर्म बाट छुट्याई अकुशलकर्म तर्फ मोड्ने काम देवपुत्र मारको हो ।
२) मृत्युपतिमार (क्षिदाकि दु) वर्ण कालो, दिशा दक्षिण
―» मनुष्य लगायत हरेक प्राणिको जायजन्म भएपछि जुनैपनि अबस्था चाहे बृद्ध होस चाहे बालक या युवा जुनसुकै अवस्थामा मृत्यु निष्चित छ । यो हामीले प्रत्यक्ष देखिआएको कुरा हो ।
यो एक ध्रुवसत्य र सर्वव्यापी हो किनकि हामि भवसागरमा छौ। । यसबाट राजा, रङ्क, धनि, गरिब, सानो, ठुलो, अब्बल, दुर्बल, विद्वान, सुन्दरी जोकोहि पनि यसको शिकारबाट बच्न सकिदैंन । सांसरिक माया मोह वन्धनमा परि त्यसकै समस्या दुर गर्दा गर्दै जिवन सकेको पत्तै पाउँदैन र मृत्युको क्षणमा मात्र पत्तो हुन्छ कि मैले गरेको सबै कर्म व्यर्थको खेल भएछ । मृत्युदेखि डराउँछ भाग्ने कोसिस गर्छ मर्न चाँदैन तर यमराजको सेना मारदेखि उ बन्चित हुनै सक्दैन ।
३) क्लेशमार (ञोन्मोङकि दु) वर्ण रातो, दिशा पश्चिम
―» आफ्नै चित्तमा राग, द्वेश, मोह, लोभ, घमण्ड, ईर्ष्या हुनु नै क्लेश मार हो । यसले चित्तलाई मैलो र धमिलो बनाउछ । शरिर र वचनको कर्म अकुशल बनाउछ जसको फलस्वरूप चोरि, डकैती, हत्या हिंसा, व्यविचार र झुटो जस्ता अमङगल अकुशल कार्यले यो जिवनमा पनि दुख पैदा गराई भावी जन्मजन्मातर जिवनमा पनि दुर्ग्ति प्राप्त गर्दछ ।
४) स्कन्धमार (फुङ्पोई दु) वर्ण पहेलो, दिशा उत्तर
―» मनमा म र मेरो भन्ने भावना पैदा गराई म (आफु) मात्र राम्रो, सुख, सम्पन्न हुनुपर्ने । मेरो शरिर, मेरो सन्तान, मेरो परिवार जस्ता भाव उत्पन्न हुन्छ । संसारको सबै चिज आफ्नो बनाउन खोज्छ र त्यसको लागि जस्तोसुकै हतकण्डा अपनाउन उ तयार हुन्छ यतिसम्म कि कुकर्म गर्न पनि पछि पर्दैन। त्यस्ता अपुर्ति अतृप्त कामनाको कारण उ दुखित भई अनमोल जिवन सकेको पत्तै हुँदैन र उसको अकुशल कर्मले दुर्गती तर्फ धकेल्दछ ।
त्यसैले बुद्धिमानी व्यक्तिले बुद्धको ज्ञानलाई आजैबाट आफ्नो क्षमता अनुसार बुझेर अभ्यास गर्दै गए अमुल्य रत्नतुल्य मनुष्य चोला पाएकोमा सागरको पिंधमा पुगि मोति विनाको खालि हात नफर्केको सुखानुभव हुनेछ । पढेर सेयर गर्नु नै धर्म हो । सबैलाई सेयर पनि गरौं । अरु कसैको जिवन बदल्न सक्छ कि ? सर्वकल्याणम् ।।।
हामीले तपाईहरुका लागि पनि बुद्धका १० विचार ल्याएका छौं, जसले जीवनमा सधैं अगाडि बढ्न मद्दत गर्नेछ ।
१ . जीवनमा सानो कुराबाट सुरुवात गर्नु खराब कुरा हैन, यो राम्रो कुरा हो
बुद्धले भनेका छन्, ‘एउटा जग थोपा थोपा पानीले भरिने गर्छ । त्यस्तै गरी, बुद्धिमान मानिसले सानो सानो कुरा समेटेर आफूलाई राम्रो कुराहरुले भरिपूर्ण गर्छ ।’
एक अमेरिकी कवि, दर्शनशास्त्री एवं निबन्धकार राल्फ वल्डो इमरसनले एकपटक भनेका थिए, हरेक चित्रकार एक पटक अपरिपक्व नै हुन्छ । यस बारेमा सोच्नुहोस्, हामी सबैले सानोबाट नै सुरुवात गर्नुपर्छ तर यसको मतलव यो हैन कि हामीले त्यो सानो सुरुवातलाई घृणा गरौं । हामी धैर्यवान हुनुपर्छ, अनि मात्र हामीले चाहेको सफलता पाउन सक्छौं । कसैले पनि कुनै सफलता रातारात पाएका हुँदैनन्, त्यसैले सम्झनुपर्छ कि सानो कुराबाट सुरुवात गरौं र जग नभरिन्जेलसम्म धैर्यवान बनौं ।
२. सोचाई नै सम्पूर्ण कार्य हो
बुद्धले भनेका थिए, ‘हामी जे छौं त्यो सबै हामी आफूले जे सोचिरहेका छौं त्यसको परिणाम हौं । यदि कुनै मानिसले गलत विचार एवं धारणाले काम गर्छ या सोच्छ भने उसलाई दुःख एवं पीडा प्राप्त हुन्छ । यदि कुनै मानिसले स्वच्छ सोचाई राखेर कुरा गर्छ या काम गर्छ भने उसलाई खुशी मिल्छ । सोच अनुसारको व्यवहार भनेको एकप्रकारको छायाँ जस्तै हो जसले कहिल्यै पनि छाड्दैन ।’
उनले एकपटक भनेका थिए, दिमाग नै सबै कुरा हो, तिमी जे सोच्छौं तिमी त्यही बन्छौ । त्यसैले यदि खुशीपूर्वक बाँच्नु छ भने हामीले आफ्नो दिमागलाई राम्रो र दयावान सोचाईले भर्नुपर्छ । नकारात्मक सोचाईले बिस्तारै हामीलाई नै बर्वाद गरिदिन्छ । किनभने हामीले जसरी सोच्छौं त्यो सोचाईले नै हाम्रो कामलाई असर गर्छ, त्यही अनुसार नै हामीले कर्म गर्छौं र हाम्रो कर्मले नै हामीले के पाउँछौं भन्ने कुरा निर्धारण गर्दछ । बुद्धले भनेका थिए, ‘सबै खराब कर्महरु दिमागबाटै उब्जिन्छन् । त्यसैले दिमागलाई परिवर्तन ग¥यौं भने खराब कर्महरु दिमागबाट हट्नछन् ।’
३. क्षमा गर्न सिकौं
घृणा भन्ने कुरा घृणा गरेर कम हुँदैन बरु माया गरेर कम हुन्छ । जब तिमीले क्षमा गर्न नसकेर मनमा बन्दी बनाएर राखेकाहरुलाई खुला गरिदिन्छौं तब तिमीले आफूलाई पनि त्यो जेलबाट मुक्त गछौं । बुद्धका अनुसार हामीले कसैलाई तल नबसी तल राख्न सक्दैनौं । त्यसैले जति छिटो हामी अरुलाई क्षमा गर्न सिक्छौं त्यति नै राम्रो हुन्छ । बुद्धले भनेका छन्, ‘पागलपन जस्तो कुनै आगो हुँदैन, घृणा जस्तो कुनै अपराध हुँदैन, मुर्खता जस्तो कुनै जाल हुँदैन, लोभ जस्तो कुनै बाढी हुँदैन ।’
४. हाम्रो काम नै हो जो सबैभन्दा महत्वपूर्ण हुन्छ
यदि कुनै काम गर्नुछ भने त्यसलाई एकदमै मनबाटै गर्नुपर्छ । अगाडि बढ्नका लागि जीवनमा हरेक दिन केही न केही गर्नु जरुरी हुन्छ । एउटा पूरानो भनाई छ, ‘भगवानले हरेक चरालाई किरा दिएको हुन्छ, तर कसैलाई पनि उसले उनीहरुकै गुँडमा फालिँदिँदैन ।’ त्यसैले यदि तपाई केही गर्दै हुनुहुन्छ भने मनबाटै गर्नुहोस्, सफलता तपाईले नै पाउनुहुनेछ ।
५. बुझ्ने कोसिस गरौं
‘हरेक क्षेत्रमा जाऊँ– खुशीका लागि, शान्तिका लागि, सबै मानिसको हितका लागि । आफ्नो मनलाई सुझबुझको बिऊ प्रदान गर, त्यस्तो बत्ती जस्तो जसले आफैलाई जलाएर अन्धकारलाई हटाउँछ ।’
एक अमेरिकी शिक्षक, लेखक एवं व्यवसायी स्टेफेन कोभेले एकपटक भनेका थिए, ‘पहिले बुझ्नका लागि हेर, त्यसपछि मात्र बुझ ।’ यस्तोमा हामी सोच्न सक्छौं, हो यो भन्नलाई त सजिलो छ नि तर यो त्यति अप्ठ्यारो पनि छैन जति हामी सोच्ने गछौं । अर्को व्यक्तिको विचार बुझ्नका लागि पहिले आफूमा भएको रिसलाई त्यागौं । अरुको कुरा सुनौं, उसले के अनुभव गरेको छ भन्ने बुझौं त्यसपछि हामीले शान्ति प्राप्त गर्छौं । हरेक पटक ठीक हुनुभन्दा खुशी हुने कुरालाई प्राथमिकता दिऔं ।
६. आफ्नो दिमागलाई वशमा राखौं
‘कुनै पनि कुराले हामीलाई त्यति असर गर्दैन जति हामीलाई हाम्रो आफ्नो अनियन्त्रित सोचाईले गर्ने गर्दछ ।’ युद्धका मैदानमा सयौं व्यक्तिलाई कैद गर्न सक्ने व्यक्तिभन्दा पनि त्यो व्यक्ति महान् बन्छ जसले आफ्नो विचारहरुलाई आफ्नो वशमा राख्न सक्छ । हाम्रो विचारहरुलाई हामीले समुद्रको छाल जस्तो गरी व्यवहार गर्न दिनुहुन्न । समुद्रका छालहरु शक्तिशाली हुन्छन् र अनियन्त्रित हुन्छन्, हाम्रो वशमा नरहेको विचार पनि त्यस्तै हुन्छ । हामी सोच्न सक्छौं कि म आफ्नो सोचाईलाई कसरी नियन्त्रित गरौं, यो त जति बेला पनि आउन सक्छ । हो तर यो कुरालाई यसप्रकार पनि बुझ्न सकिन्छ । ‘हामी आफ्नो टाउकोमाथि उड्ने चरालाई रोक्न सक्दैनौं, तर त्यो चरालाई आफ्नो टाउकोमा घर बनाउनबाट निश्चय नै रोक्न सक्छौं ।’
७. शान्ति र सौहार्दपूर्ण वातावरणमा बाँचौं
विजयी भावले घृणालाई जन्म दिन्छ । यसले जीवनलाई दुःखमा पु¥याइदिन्छ । हार र जितभन्दा पर रहेमा मात्र खुशी र शान्तिपूर्वक बाँचन सकिन्छ । आफ्नो मनमा जे भेटिन्छ मात्र त्यही खोज्नका लािग बाहिर नहेरौं । कहिलेकाँही हामी यथार्थता र शान्तिबाट पर राख्नका लागि मात्र केही कुरा चाहिरहेका हुन्छौं । शान्ति भनेको कुनै नयाँ जागिर हैन, शान्ति आनन्द भनेको नयाँ घर वा नयाँ गाडी हैन, न त नयाँ वैवाहिक सम्बन्ध नै हो । सुख र शान्ति एवं आनन्द भन्ने कुरा आफैभित्र रहने कुरा हो ।
८. कृतज्ञ बनौं
‘स्वास्थ्य भनेको सबैभन्दा ठूलो उपहार होे, सन्तुष्टि सबैभन्दा ठूलो धन हो ।’ सधैं सम्झौं, जीवनमा सधैं केही न केही हुन्छ जसका लागि हामी कृतज्ञ बन्नुपर्छ । हिजो राती निदाएका सबैजनाले आजको बिहान देख्न पाएका हुँदैनन् । त्यस्तै धेरैजना आज कुनै न कुनै रोगबाट लडिरहेका हुन सक्छन् । त्यसैले जीवनमा सधै केही न केही हुन्छ जसका लागि हामीले आफूलाई कृतज्ञ बनाइराख्नुपर्छ । ठूलो हृदयले नै हामीलाई ठूलो बनाउँछ ।
९. हामीले जानेको कुरामा सधैं सत्य बनौं
‘जसरी कुनै ठूलो पत्थरलाई हावाले उडाउन सक्दैन, त्यस्तै ज्ञानी व्यक्ति प्रशंसा या आरोपले हराउँदैन ।’ हामीलाई धेरै कुरा थाहा हुन्छ, तर हामीले सधैं हामीलाई थाहा भएकै कुरा गर्दैनौं । यदि हामी लड्यौं भने हामीले हामीलाई के गर्ने थाहा नभएर लडेका हुँदैनौं यो यसकारण हुन्छ किनकी हामीले त्यो काम गरेनौं जुन हामीलाई थाहा थियो हामीले गर्नुपथ्र्यो । आफूप्रति सधैं सत्य रहौं ।
१०. खुशी बाँडौं
‘एउटा मैनबत्तीबाट हजारौं मैनबत्तीहरु बाल्न सकिन्छ, र यसबाट त्यो मैनबत्तीको जीवन छोटो हुँदेन । खुशी पनि बाँडेर थोरै हुँदैन, घट्दैन ।’ यो साँचो कुरा हो, खुशी भनेको कुरा कहिल्यै पनि बाँडेर कम हुँदैन तर झन् बढ्न पुग्छ जब बाँडिन्छ । आफ्नो खुशी अरुको अगाडि नलुकाऔं, खुशी बाँडौं र आफ्नो वरपरको वातावरणलाई अझ राम्रो बनाऔं ।








