पोखरा । विभिन्न कारणले गर्दा आमा र बच्चाको स्वाश्थ्य अवस्था नबिग्रियोस भन्ने उद्देश्यले पोखरा महानगरले लकडाउन अवधिमा ६ सय ८० जना सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको छ ।
सुत्केरी महिलालाई लकडाउनमा सहयोग गर्ने उद्देश्यले महानगरले एक किलो घिउ, एक किलो हरलिक्स, एक लिटर तेल, एउटा साबुन र नगद ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।
चैत १० देखि जेठ ३२ गतेसम्म सुत्केरी भएका महिलाहरुलाई ‘सुुत्केरी राहत’ दिइएको र अब भने उक्त राहत कार्यक्रम बन्द गरिएको पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् । लकडाउन अवधिमा सुत्केरी महिलाको स्वास्थ्यमा समस्या नआओस्, पौष्टिक तत्व कमी नहोस् भनेर महानगरबाट सहयोग गरे अनुसार उनिहरुलाई उक्त्त सामाग्रीहरु वितरण गरिएको हो ।
सुत्केरी राहतमा १३ लाख ६० हजार रुपैयाँ खर्च भएको महानगर भण्डारण शाखाका रेवती भण्डारीले जानकारी दिए । उनले जेठ ३२ सम्म नाम टिपाएका केही सुत्केरीलाई भने राहत दिन बाँकी नै रहेको र चाँडै वितरण गरिने सुनाए ।
लकडाउन खुकुलो भएसँगै राहत वितरण बन्द गरिएको छ ।








