काठमाडौं । अछामबाट बर्दिया पुगेर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय पुरुष व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
मंगलबार राति ११ बजे अछामबाट गुलरिया आएका उनी छोरासँगै अछामबाट मजदुरी गरी फर्किएका थिए । अछामबाट आएका उनीसहित १३ जना व्यक्तिहरु गुलरिया–४ स्थित बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका थिए । झण्डै सात घण्टा क्वारेन्टाइनमा बसेका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।








