नयाँ भर्ना र अनलाइन पठन पाठनको नाममा शुल्क नलिन निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ।

कतिपय विद्यालयले आफू खुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले सोमबार मन्त्रालयले विज्ञप्ति जारी गरी त्यस्तो कार्य नगर्न आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा निजी (संस्थागत) विद्यालयले आवास शुल्क बाहेक एक महिनाको अन्य शुल्क छुट दिन यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयको कार्यान्वयनका लागि पनि स्मरण गराइको छ।

त्यसैगरी कक्षा १० को अन्त्यमा लिइने एसईई र कक्षा ११ तथा १२ का परीक्षाहरु स्थगित रहेको अवस्थामा मन्त्रालयबाट वस्तुस्थितिको सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेको हुँदा परीक्षा सञ्चालन सम्बन्धमा हालसम्म कुनै थप वा नयाँ निर्णय नभएको उल्लेख गरिएको छ ।

त्यसैगरी संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनी नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई आवश्यक जानकारी दिन सूचित गरिएको छ ।

सम्बन्धित शिर्षकहरु