
काठमाडौं । एमाले–माओवादीबीच चार महिनादेखिको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरुले बताएका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि पार्टी एकताको विषयमा छलफल भइरहेको छ ।
दुई शीर्ष नेताहरुबीच अपरान्ह छलफल हुने भनएिपनि समय र स्थान तय नभएका कारण छलफलमा ढिलाइ भएको हो । एकताबारे ‘विभिन्न आशंका र षड्यन्त्रलाई चिरेर’ छोटो र छिटो विधिबाट पार्टी एकता टुंगोमा पुर्याउने विषयमा दुई शीर्ष नेताबीच यसअघि शुक्रबार नै समझदारी भएको बताइएको छ ।
एमाले र माओवादीका दोस्रो तहका नेताबीच एमाले र माओवादीबीच क्रमशः ७० र ३० को अनुपातमा राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने सहमति भएको भनिएपनि ओली र दाहालबीच भने ६७ र ३३ प्रतिशको आधारमा साझा उम्मेदवार चयन गर्ने सहमति भएको छ ।
ओली र दाहालबीच पार्टी एकता कसरी गर्ने भन्नेबारे अझैपनि विभिन्न मोडेलमा छलफल विचाराधीन रहेका छन् । एकता प्रक्रिया अब छिट्टै निर्णायक तहमा पुग्नेमा शंका नरहे पनि कुन मोडालिटी अपनाउने भन्ने बारे भने दुवै पार्टीका अध्यक्षहरू माैन देखिएका छन् ।








