चैतमा विदेशबाट आएका सबैको र्‍यापिड टेष्ट,खरिपाटी क्वारेन्टाइनका ९४ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा गरिएको ८८ जनाको नमूना परीक्षणबाट कुनै नयाँ संक्रमण भेटिएको छैन। स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले उक्त जानाकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित कोरोना ब्रिफिङका क्रममा हालसम्म १ हजार ५ सय २९ जनाको नमूना परीक्षण भएको जनाएको छ।

यसअघि शनिबारसम्म कोरोनाको आशंकामा १ हजार ४ सय ४१ जनाको नमूना परीक्षण भएको थियो।

कोरोनाको आशंकामा भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा रहेका ९४ जना सबैको नमूना नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डा विकास देवकाटाले बताए ।

देवकोटाले काठमाडौं उपत्यकामा १२ र बाहिर १०१ गरी ११३ जना व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिएका हुन्।

नेपालमा अहिलेसम्म कोरोना भाइरसका ९ जना संक्रमित भेटिएका छन्। तीमध्ये आठ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने एक व्यक्ति निको भएर घर फर्किसकेका छन्। शनिबारमात्रै कैलालीका दुई जना र कञ्चनपुरका एक गरी तीन जनामा कोरोनाको संक्रमण देखिएको थियो।

प्रवक्ता देवकोटाले संक्रमित व्यक्तिको सम्र्पकमा आएका सबैको कन्ट्याक ट्रेसिङ निरन्तर भइरहेको पनि जानकारी दिए। उनका अनुसार शनिबार फेला परेका संक्रमितको पनि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिसकिएको छ।

चैत महिनामा नेपाल प्रवेश गर्ने सबैको सबैको र्‍यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोरोना परीक्षण गरिने भएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना संक्रमण देखिएका नजिकका व्यक्तिहरुको पनि परीक्षण गर्ने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसरी गरिएको र्‍यापिड टेस्टबाट पोजेटिभ देखिए पीसीआर प्रविधिबाट पुनः परीक्षण गरिने भएको छ ।

सम्बन्धित शिर्षकहरु