के- के छन् सभामुख सापकोटामाथि तेर्सिएको चुनौतीहरु, आगामी बाटो कति सहज ?

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अग्नि सापकोटा निर्वाचित भएका छन्। सभामुख पदमा सापकोटाको मात्र उम्मेदवारी परेकाले आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरेका थिए। गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार आरोप लागेपछि राजीनामा दिएका थिए।

लामो राजनीतिक उतारचढावबाट आएका सापकोटाको सबैभन्दा ठूलो चुनौती उनीमाथि लागेको हत्या आरोपबाट छुटकारा पाउनु हो। माओवादी द्धन्दकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोप उनीसहित तत्कालीन माओवादीका ६ जना नेता कार्यकर्तालाई लागेको छ।

यसअघि त्यही घटनाको विषयलाई लिएर सर्वोच्चमा परेका तीनवटा रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिएको छ। तर, प्रहरीले सापकोटा फरार रहेको भन्दै उनीमाथि छानबिन गर्न सकेको छैन। त्यही विषय लिएर शुक्रबार फेरि सर्वोच्चमा अर्को रिट दर्ता भएको छ।

त्यसको सुनुवाइ आइतबारबाट सोमबार सरेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगमा समेत उजुरी दर्ता भएको उक्त घटनाको आरोपबाट सफाइ पाउनु सापकोटाका लागि सर्वाधिक महत्वको विषय हुनेछ। उनको पहिलो चुनौती यही हो।

उक्त घटनाबाट सफाइ नपाएको अवस्थामा उनीमाथि नैतिकसँगै सधैं कानुनी प्रश्न पनि खडा भइरहनेछ। अनुसन्धानका लागि उनले पद छाड्नु पर्ने अवस्थासमेत सिर्जना नहोला भन्न सकिँदैन।

सापकोटामाथि तेर्सिएको दोस्रो चुनौती हो- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको विश्वास जित्नु। पूर्वमाओवादी खेमाबाट उम्मेद्वार बनेका सापकोटालाई सभामुख बनाउन प्रधानमन्त्री ओली तयार थिएनन्।

राजनीतिक दलबीचको आपसी सबन्ध बनाउन सक्छ कि सक्दैनन्, त्यो भोलिका दिनले निर्धारण गर्छ। विपक्षमा उम्मेदवारी नदिएपनि प्रतिपक्ष दलका सांसद रिजालले विषय उल्लेख नगरी ‘मोरल क्वीसन्स’लाई निर्वाचित हुँदै गर्दा उठान गरेका छन्। यसले सापकोटालाई सहज हुने देखिन्न। प्रकट वा अप्रकट दुवै रूपमा सापकोटा विपक्षीको तारोमा पर्ने सम्भावना बढी नै देखिन्छ। ‘नागरिक समाज हाम्रो पक्षमा रहेको’ भन्ने रिजालको भनाइले सापकोटा चुनौतीका पहाडमाझ छन् भन्ने बुझन कठिन छैन।

उनको सभामुख चयनप्रति स्वयं नेकपाको एउटा पंक्ति सन्तुष्ट भएको पाइन्न भने, संसदको अर्को कम्युनिस्ट घटक राष्ट्रिय जनमोर्चाको माउ पार्टी नेकपा (मसाल)ले मानवअधिकारको प्रश्न उठाएर सापकोटाप्रति विमति जनाएको अवस्थामा सबैलाई मिलाउनुपर्ने चुनौती सापकोटामाथि छ।

सबैभन्दा बढी चुनौती त सभामुखको आसनमा बसेपछि सापकोटालाई प्रधानमन्त्री ओलीको विश्वास जित्नुमा छ। ‘कन्भिन्स’ भएमा मुटु नै निकालेर दिने तर थर्काएर, घेराबन्दी पारेर, अप्ठयारो बनाएर आफूसँग काम लिनेलाई ओलीले बदला लिने गरेको देखिन्छ। यो उनको स्वाभावजन्य कमजोरी र सफलता दुवै हो। यो पुरानो स्वाभाव सापकोटाको हकमा फरक होला भन्ने अझै विश्वास गर्न सकिन्न। कारण, सापकोटा ओलीको रहरमा होइन, भैसेंपाटी गठबन्धनको घेराबन्दीमा परेपछि स्वीकार्न बाध्य भएको बुझ्न कुनै गार्‍हो छैन।

सम्बन्धित शिर्षकहरु