राजनीतिक दलको चासो प्रदेश ५ तिर,प्रभावशाली नेता को पक्षमा को विपक्षमा ?

काठमाडौं । सर्वाधिक पेचिलो बनेको प्रदेश ३ को नाम र राजधानी टुंगिएपछि राजनीतिक दलदेखि आमनागरिकको चासो प्रदेश ५ तिर पर्न थालेको छ । प्रदेश ३ जतिकै पेचिलो भएका कारण प्रदेश ५ को पनि नाम र राजधानी टुंगिन सकेको छैन ।

अन्य प्रदेशभन्दा प्रदेश ५ विकास र सुशासनमा अगाडी छ । तर नाम र राजधानीको स्थायी टुंगो नलाग्दा मुख्यमन्त्री शंकर पोखरेल पनि सास्तीमा परेका छन् ।

नाम र स्थायी राजधानी सिफारिस गर्न मुख्यमन्त्री पोखरेलले एउटा बिज्ञहरुको समिति नै गठन गरेका थिए । समितिले भारतसम्म पुगेर प्रदेशको मोडेल हेरेको थियो । तरपनि प्रदेश ५ ले स्थायी राजधानी र नाम टुंग्याउन सकेको छैन ।

प्रदेश ५ मा शक्तिशाली नेताहरुको टकरावले स्थायी राजधानीको टुंगो लाग्न नसकेको हो । बुटवललाई स्थायी राजधानी बनाउनेमा नेकपा र कांग्रेसका शक्तिशाली नेताहरु लागिरहेका छन् । तर मुख्यमन्त्री पोखरेल भने नाम लुम्बिनी र राजधानी दाङ बनाउने पक्षमा छन् ।

बुटवल राजधानी बनाउने पक्षमा नेकपा महासचिव बिष्णु पौडेल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, बेदुराम भूसाल, घनश्याम भूसाल, टोपबहादुर रायमाझी रहेका छन् । भने कांग्रेसका बालकृष्ण खाड पनि बुटवल नै राजधानी बनाउने पक्षमा छन् । नेकपाभित्रका शक्तिशाली नेताहरु बुटवलका पक्षमा उभिएपछि राजधानीको बिषय प्रदेश ५ मा निकै पेचिलो बनेको छ ।

दाङलाई राजधानी बनाउने पक्षमा पनि नेकपाका प्रभावशाली नेताहरु रहेका छन् । मुख्यमन्त्री पोखरेल, स्थायी कमिटी सदस्य बर्षमान पुन, युवराज ज्ञवाली दाङलाई प्रदेश ५ को राजधानी बनाउने पक्षमा छन् ।

शक्तिशाली नेताहरुको टकवरावले राजधानीको टुंगो लाग्न नसकेपछि मुख्यमन्त्री पोखरेलले पाटीबाट निर्णय लिनु पर्ने प्रस्ताव समेत गरेका थिए । पछिल्लो नेकपा स्थायी कमिटी बैठकमा मुख्यमन्त्री पोखरेलले नाम राजधानीका बिषयमा पार्टीले निर्णय लिनु पर्ने लिखित प्रस्ताव राखेका थिए । पोखरेलको प्रस्तावसँग नेकपा सचिवालय सहमत भएको छ । प्रदेश ३ को नाम र राजधानी तोक्ने काम नेकपा सचिवालय बैठकले गरेको हो ।

प्रदेश ५ को नाम र राजधानीको बिषयले नेकपा सचिवालयमा प्रवेश पाइसकेको छ । तर सभामुखको बिषय पेचिलो बनेपछि प्रदेशको निर्णय नेकपाले लिन सकेको छैन । ‘केही मुल बिषयहरु सकिएपछि प्रदेश ५ को नाम र राजधानीका बिषयमा पार्टीले निर्णय लिन्छ’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘सवै कुरा अध्ययन गरेपछि निर्णय लिने हो, अहिले प्रदेश ५ का बिषयमा अध्ययन भइरहेको छ ।’

सम्बन्धित शिर्षकहरु