उपचार गर्न काठमाडौं ल्याइरहेका बिरामीको जाममा परेर बसमै मृत्यु

काठमाडौं । उपचार गर्न काठमाडौं ल्याइरहेका बिरामीको जाममा परेर बसमै मृत्यु भएको छ। रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साहलाई उपचारका लागि काठमाडौं ल्याउदै थिए। तर, पृथ्वीराजमार्गमा जाममा परेको वेला आज बिहान ५ बजे मृत्यु भएको आफन्तले बताएका छन्। उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा पल्टिरहेकाे अवस्थामै मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले बताए।

उनलाई ना ७ ख ५३६४ नम्बरको गाडी ल्याइदै थियो। उनी मिर्गौलाका बिरामी थिए। नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न थालेपछि जाम बढेको हो। दशैंका लागि काठमाडौं भित्रिने र बाहिरिने यात्रुको चाप भएकावेला नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न थालिएको छ। जसले गर्दा शुक्रबार बिहानदेखि यो सडकमा जाम भएको छ। शुक्रबार साँझदेखि नै जाममा बस्नु परेको आफन्तले जनाएका छन्। जसले गर्दा उनलाई समयमा काठमाडौं पुर्‍याउन नसकिएको उनीहरुको भनाइ छ। एम्बुलेन्समा ल्याउन पैसा नभएपछि उनका परिवारजनले सार्वजनिक गाडीमा काठमाडौ ल्याइरहेका थिए। १२ घण्टाभन्दा बढी जाममा बस्नु परेपछि मृत्यु भएको सहायक निरीक्षक श्रेष्ठले बताए।

सम्बन्धित शिर्षकहरु