काठमाडौं । बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिएका पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्। श्रेष्ठले आइतबार दिउँसो माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्। सपिङ सेन्टरबाट हाम फालेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि पिपुल्स हस्पिटल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसर टेकुका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
मालपोत कार्यालयबाट २०६० सालमा रिटायर्ड भएका ५७ वर्षीय श्रेष्ठ हाल नेपाली कांग्रेस पर्वतका सचिव थिए। श्रेष्ठको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। श्रेष्ठले के कारणले आत्महत्या गरेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी बोगटीले बताए।
मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत हुँदा सरकारी जग्गा व्यक्तिका नाममा गराउन सहयोग गरेको आरोप उनीमाथि थियो। बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो।








