साउन १५,काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनबाट पनि पहिलो पार्टी बन्ने आकांक्षा राखेको एमालेले मुख्य प्रतिस्पर्धी कांग्रेसबाहेक बाँकी सबै पार्टीसँग २ नम्बर प्रदेशमा चुनावी तालमेल गर्ने नीति लिएको छ। कांग्रेसले २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने दाबी गरेपछि कांग्रेसलाई उछिन्न र पहिलो नम्बरमा यथावत रहन एमाले चुनावमा आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा छ। एमाले नेताहरूले २ नम्बर प्रदेशमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गरिरहेका छन्।
पहिलो र दोस्रो चरणको निर्वाचनबाट कांग्रेसभन्दा ५० सिटले अघि रहेको एमाले कुनै पनि स्थितिमा एक नम्बरको स्थान गुमाउन नहुने निष्कर्षमा छ। पहिलो र दोस्रो चरणबाट एमालेले २ सय ७६ स्थानमा प्रमुख÷अध्यक्ष जितेको छ भने कांग्रेस २ सय २६ स्थानमा विजयी भएको छ। भरतपुर महानगरपालिकाको मतपरिणाम आउन बाँकी छ।
‘कांग्रेस पहिलो हुनलाई २ नम्बरमा १ सय सिट जित्नुपर्छ भने एमाले शून्य हुनुपर्छ,’ एमाले सचिव प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने, ‘यस्तो हुनु असम्भव छ। एमालेलाई पहिलो हुनबाट कसैले पनि रोक्न सक्दैन।’ २ नम्बर प्रदेशका १ सय २७ स्थानीय तहमा असोज २ गते तेस्रो चरणमा चुनाव हुँदैछ।
एक सिटले भए पनि कांग्रेसको रणनीति कांग्रेसले आफ्नो नीति, नेतृत्व, संगठन र कार्यकर्ताको ‘अस्तित्वको लडाइँ’का रूपमा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लिने भएको छ। पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० स्थानीय तह कम जितेको कांग्रेसले तेस्रो चरणमा कम्तीमा एक सिट भए पनि बढी जित्नै पर्ने रणनीति अपनाउने स्रोतले जनाएको छ। आगामी असोज २ गते प्रदेश नम्बर २ का १२७ स्थानीय तहमा तेस्रो चरणको निर्वाचन हुँदै छ। अघिल्लो शनिबारदेखि तीन दिन बसेको केन्द्रीय कार्यसमिति बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षाका साथै तेस्रो चरणको निर्वाचनका लागि रणनीति तय गर्ने सम्बन्धमा छलफल भएको थियो।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि अधिकांश केन्दीय सदस्यले बैठकमा ‘कांग्रेसको अभियान, प्रदेश नम्बर २ को निर्वाचन’ भन्ने प्रतिबद्धता जनाएका थिए। प्रदेश २ लाई केन्द्र बनाउँदै तेस्रो चरणको निर्वाचन हुने आठ जिल्लाका १२७ स्थानीय तहमा प्रतिनिधित्व गर्नेदेखि प्रधानमन्त्री देउवासम्मको सहभागितामा यही साउन १९ र २० गते धनुषामा बृहत् भेला आयोजना गर्न लागिएको कांग्रेस नेतासमेत रहेका कृषि विकासमन्त्री रामकृष्ण यादवले जानकारी गराए।
प्रदेश २ मा रहेको विद्रोही मधेसी शक्ति, राष्ट्रिय जनता पार्टी र मधेसी समुदायको मागका रूपमा रहेको संविधान संशोधन, सिंहदरबारमा मधेसीको प्रतिनिधित्व रहेको सन्देश दिनेजस्ता कार्य गर्ने÷गराउने पक्षमा कांग्रेस गएकाले एमाले पराजित हुने दाबी कृषिमन्त्री यादवले गरे। माओवादीले शीर्ष नेतालाई मधेसमा उतार्दै दुई चरणको निर्वाचनमा अपेक्षित सफलता नपाएको माओवादी केन्द्रले प्रदेश २ को निर्वाचन पक्षमा पार्न विशेष कार्यक्रम सुरु गर्ने भएको छ।
साउन १६ गते जनकपुरमा अगुवा कार्यकर्ता प्रशिक्षणमार्फत शीर्ष नेतालाई नै मधेसमा उतार्ने योजना उसले बनाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतले निर्वाचनकेन्द्रित प्रशिक्षण दिने प्रदेश २ का नेता गोपाल ठाकुरले बताए। ‘मधेसका करिब ५ सय अगुवा कार्यकर्तालाई अध्यक्षलगायत नेताले प्रशिक्षण दिनुहुन्छ,’ ठाकुरले भने, ‘त्यसपछि केही योजना बनाएरै पार्टी निर्वाचनको मुभमेन्टमा होमिनेछ।’ माओवादीले साउन १७ गते जनकपुरमै पार्टी अध्यक्षको उपस्थितिमा प्रदेश २ मा कार्यक्षेत्र रहेका पार्टी पोलिटब्युरो सदस्यको बैठक बोलाएको छ।
निर्वाचन रणनीति बनाउन बैठक बोलाइएको नेता युवराज भट्टराईले जानकारी दिए। अध्यक्ष दाहाललगायत शीर्ष नेतालाई नै २ नम्बर प्रदेशअन्तर्गतको वीरगन्ज महानगरपालिका, तीन उपमहानगरपालिका र पार्टीले जित्ने सम्भावना देखिएका अन्य स्थानीय तहका विभिन्न कार्यक्रममा सहभागी गराउने योजना बनेको नेताहरूले बताएका छन्। अन्नपूर्ण पोष्टमा समाचार छ ।








