काठमाडौं । आज (बिहीबार) मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही भूभागमा पनि आज बर्षाको संभावना रहेको महाशाखाकी मौसमविद् विभूती पोखरेलले बताइन्।
पोखरेलका अनुसार काठमाडौँ उपत्यकामा आज ठूलो पानी पर्ने संभावना भने छैन। ‘अहिले उपत्यकाको मौसम बदली भए पनि यो खुल्ने क्रममा छ,’ मौसविद् पोखरेलले भनिन्, ‘उपत्यकासहित देशैभरी आज ठूलो पानी पर्ने सम्भावना छैन। तर, सामान्य वर्षा भने पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा हुनसक्छ।’
काठमाडौँ उपत्यकामा गए राति २.४ मिलिलिटर वर्षा भएको छ।
‘यतिबेला मनसुनको प्रभाव देशको पूर्व र मध्य क्षेत्रमा अलि बढी छ। तर, ठूलो पानी पर्ने गरी होइन,’ पोखरलले भनिन्, ‘दुई तीन दिन देशका कुनै पनि भूभागमा बाढी पहिरो जानेगरी ठूलो पानी पर्ने प्रणाली देखिँदैन।’
यस्तो छ महाशाखाको तीन दिनको मौसम पूर्वानुमान
देशको मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पुर्व र मध्यका धेरै स्थानका साथै पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।








