काठमाडौं । काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनलाई निषेध गरिने भएको छ । आगामी असार १ गतेबाट बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन नपाइने व्यवस्था गरिएको छ । काठमाडौंको मुख्य नाकामा जामको समस्या तीव्र भएपछि विभागले यस्तो कदम चालेको हो ।
काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय भएको विभागले जनाएको छ । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ ।
यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ । आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको छ । दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन ।
चक्रपथ बाहिरको चाबहिल(जोरपाटी सडक, गोपीकृष्ण-कपन सडक, नारायणगोपाल चोक(बुढानीलकण्ठ सडक, बालाजु बाइपास(गोलढुंगा सडक, बगडोल(नख्खु सडक, सातदोबाटो(हरिसिद्धी सडक, ग्वार्को-चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी सञ्चालन गर्न रोकिने छ ।
अब नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने मालबाहक सवारी दिउँसो धादिङकै सडक खण्डमा रोकिनुपर्ने भएको छ । टोखाको बाटो भएर आउने सवारी पनि माथिल्लो भागमै रोकिनुपर्ने छ । ककनीको रुट हुँदै आउने मालबाहक सवारी गोलढुंगा अघि नै रोकिनुपर्ने छ । उनीहरुलाई रात परेपछि मात्रै काठमाडौंभित्र प्रवेश गर्न पाउने छन् ।








