काठमाडौं । भारतीय सञ्चार माध्यमहरुमा एकजना पात्रको तस्बिरसहितका समाचार पछिल्ला दिनमा छापिएका छन्, भारतमा कम्युनिस्टहरु कसरी सकिए भन्ने व्यहोरामा । त्यसरी तस्बिर छापिएका पात्र हुन् सीताराम येचुरी, जो अहिले भाकपा (मार्क्सवादी) का महासचिव पनि हुन् । उनी नेपालमा पनि परिचित छन् । किनकि २०६२–०६३को आन्दोलनताका नेपालका राजनीतिक दललाई आन्दोलनको बेलामा भारतीय राजनीतिक दलको तर्फबाट ऐक्यबद्धता जनाउन उनी काठमाडौं–दिल्ली गरिरहन्थे ।
नेपालका कतिपय नेताहरुसँगको उनको घनिष्ट सम्बन्ध पनि छ । उनको पार्टी त्यतिबेला कांग्रेस आईबाट प्रतिनिधित्व गर्ने डा. मनमोहन सिंह सरकारको सत्ता साझेदार पनि थियो । भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार उनले निर्वाचनमा कम्युनिस्ट पार्टीको हारलाई लिएर समीक्षा गरिने बताएका छन् । भारतमा कम्युनिस्टहरुको गढ मानिने पश्चिम बंगालमा यसपालि त्यहाँका कम्युनिस्ट पार्टीहरु शून्यमा झरेका छन् । त्यहाँ कम्युनिस्टका तर्फबाट सन् १९७७ देखि २०११ सम्म ३४ वर्ष एक छत्र शासन चलाइएको थियो ।
यसपालिको लोकसभा निर्वाचनमा केरला, तमिलनाडु, त्रिपुरालगायतका क्षेत्रमा औंलामा गन्न सकिने त्यो पनि दुई हातको औंलामा होइन एक हातको औंलामा गन्न सकिने गरी कम्युनिस्ट उमेदवारहरु अग्रस्थान वा जितेको अवस्थामा रहेको विषय पनि प्राथमिकताका साथ प्रकाशित भएको छ ।
सन् २००४ सम्म त्यहाँका कम्युनिस्ट पार्टीहरुको ६४ वटासम्म सिट संसदमा थियो । उनीहरु त्यतिबेला सत्ता साझेदार पनि थिए ।
कम्युनिस्ट पार्टी अफ इण्डिया (मा्क्सवादी) को सांसद सिट संख्या २०१४ मा आइपुग्दा १० मा सीमित भयो ।
विगतमा दशौं हजार मानिस कम्युनिस्ट र्यालीमा भाग लिन रातो टिशर्ट लगाएर खडा हुने गरेका थिए, टाउकोमा रातै ह्याट हुन्थे । सक्रिय थिए तर अहिले त्यो लडाईँ व्यर्थको लडाईँ जस्तो देखिएको छ । येचुरी केरलाका ६ सिटको संरक्षणका लागि चुनावताका पुगेका थिए । तर, अहिले परिणाम निकै खराब आएको छ । युवाहरुमा पहिला आकर्षण थियो तर अहिले पहिरो गएको छ । उनीहरु लेफ्टबाट मध्यमार्गतिर लागेका छन् । कोही भाजपातिर लागेका छन् भने कोही कांग्रेस आइमा ।
सन् २००८ को आर्थिक संकटले मानिस फेरि वामपन्थीतर्फ फर्किन थालेको येचुरीले बताएका थिए । कम्युनिस्ट पार्टीले गरिबीका कुरा उठाउने गरेपनि परिणाममा भने त्यो नदेखिएको एकातिर पाइयो भने अर्कातर्फ अन्य पार्टीले पनि कम्युनिस्टले उठाउने जस्तै मुद्दा उठाउन थालेका छन् ।
त्यसले गर्दा लामो इतिहास बोकेका कम्युनिस्ट भने पत्तासाफ हुने अवस्थामा पुगेका छन् । कम्युनिस्ट पार्टी अफ इण्डिया (सीपीआई) भारतको सबैभन्दा पुरानो कम्युनिस्ट पार्टी हो । यो कहिले स्थापना भएको हो भन्ने कुरामा विभिन्न भनाइ पाइन्छ । सीपीआईले भने स्थापना दिवस १९२५ को डिसेम्बर २६ लाई मान्ने गरेको छ । सीपीआईबाट फुटेर १९६४ मा सीपीआई (मार्क्सवादी) बनेको हो । ती दुईबीच चीनको खालको कम्युनिस्ट बन्ने कि रसियाको जस्तो भन्ने बारेमा उतिबेला विवाद भएको बताइने गरेको छ ।
कम्युनिस्ट पार्टी अफ इण्डिया (सीपीआई) भारतको मात्रै होइन विश्वकै पुरानो कम्युनिस्ट पार्टीमध्येको एक मानिन्छ । सन् १९४७मा भारत स्वतन्त्र भएपछि यो शक्तिशाली पार्टी बनेको थियो । त्यतिबेला उसलाई गरिबीविरुद्ध लड्ने सेनाको रुपमा समेत लिइन्थ्यो । १९६४ मा यो पार्टी फुट्यो । यसक्रममा पश्चिम बंगालमा भएको कम्युनिस्ट किल्ला ३४ वर्षपछि २०११ मा ढल्यो । उत्तर पूर्वी राज्य त्रिपुरा गएको वर्ष भाजपाको पोल्टोमा गयो । केरला पनि गएको छ ।
कम्युनिस्टका अझै पनि केही डाइहार्ड समर्थकहरु भने भारतमा छन् । तर जनमतको हिसाबले निकै कमजोर छ । अहिलेकै निर्वाचनमा अमेठीबाहेकको अर्को सिटमा जहाँ राहुल गान्धी लडेका थिए त्यो केरलाको वायनादपनि हो । जहाँ कम्युनिस्ट उमेदवार पराजित भएका छन् । केरला पनि कम्युनिस्टको बलियो गढ मानिन्छ ।
क्याराभान म्यागेजिनका राजनीतिक सम्पादक हर्तोष सिंह बलले भनेका छन्,‘‘भारतको केरलाको अलाप्पुजामा एक सिट मात्रै लेफ्ट (वामपन्थी)का लागि लेफ्ट बाँकी रह्यो । पहिलो पकड क्षेत्र मानिएको पश्चिम बंगाल र त्रिपुरामा उनीहरुले यसपालि सबैथोक गुमाउनुपर््यो । तमिलनाडुका तीन सिटमा उनीहरु अगाडि रहेका छन् । यो कम्युनिस्टका लागि निकै अप्ठेरो अवस्था हो । यो अवस्थालाई सुधार्नु निकै जटिल काम हो । ’’
भाजपाले आफ्ना कार्यकर्तालाई काँध थापिदियो र तृणमूल कांग्रेसले पनि टेकओभर गरेपछि उनीहरुलाई पश्चिम बंगालमा अप्ठेरो परेको हो । पहिला वामपन्थीको शक्ति पन्जाब, तेलंगना, आन्ध्र प्रदेश, तमिलनाडुदेखि विहारसम्म थियो । उनीहरुको प्रभाव २००४ सम्मपनि राम्रै थियो । उनीहरुलाई अहिले परेको समस्या भनेको भाजपा, कांग्रेस र अन्य दलले पनि गरिबीविरुद्धका नारा दिनु पनि हो ।
१९६४मा स्थापना भएपछि पहिलो पटक सीपीआईएम बंगालको आम निर्वाचनमा अहिले शून्य भएको हो । अहिले त्यहाँ उसका उमेदवार तेस्रो वा चौथो प्रतिस्पर्धामा मात्रै थिए । २००४ मा ४२ मध्ये २६ सिटमा सो पार्टीले पश्चिम बंगालमा जितेको थियो । २०१४ मा २ सिटमा झर्यो । चुनावको परिणामपछि सीपीआईएमका प्रदेश सेक्रेटरी सूर्यकान्त मिश्रले अब आन्तरिक समीक्षा गरिने जनाएका छन् । सीपीआईएमका महासचिव येचुरीले चाहिं हारको एक मात्र कारण आफू मात्रै नभएको बताउँदै प्रतिरक्षा गर्न खोजेका छन् । (एजेन्सीहरुको सहयोगमा)- १२ खरीवाट








