अनुयायी बेपत्ता र बलात्कारको आरोप लागेका बम्जनलाई प्रहरी किन पक्राउ गर्दैन?

काठमाडौं । प्रहरीको खोजीमा रहेका रामबहादुर बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेस्थित आश्रममा सार्वजनिक भएका छन्। आश्रमबाटै अनुयायी बेपत्ता र बलात्कारको आरोप लाग्दै आएका उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि भूमिगतजस्तै थिए। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

विभिन्न व्यक्तिको उजुरीपछि चार महिनाअघि प्रहरीले सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा खानतलासी गुर्नका साथै पैरेमा समेत सोधपुछ गरेको थियो। त्यतिखेर प्रहरीले बम्जनलाई भेट्टाएन। प्रहरीको छानविन पनि त्यत्तिकै सेलाएको छ। केही नबोल्ने बम्जनले शुक्रबार दिनभर टाउकोमा हात राखेर अनुयायीलाई आशिर्वाद दिएको आयोजक बोधीश्रवण धर्म संघले जनाएको छ। संघका अनुसार १४ औँ विश्वशान्ति मैत्रीपूजाका अवसरमा ७७ जिल्लाबाटै आएका अनुयायीलाई तपस्बी बम्जनले दर्शन दिने कार्यक्रम छ।

आश्रममा तपस्बी बम्जनकै अनुयायीले कडा निगरानी गर्नुका साथै सुरक्षासमेत दिएका छन्। गेटमा नाम लेखाएर मात्र प्रवेश दिइएको छ। फोटो खिच्न रोक लगाइएको छ। विदेशीसमेत दर्शनका लागि लाम बसेका छन्। लिटिल बुद्धको उपनामले चिनिएका बम्जनमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुर, बारा र नुवाकोटमा चारवटा उजुरी परेको छ।

बम्जनको आश्रममा बस्दा आफूमाथि यौन हिंसा र बलात्कार भएको भन्दै एक अनुयायी युवतीले महानगरीय प्रहरी अपराध महाशाखामा पनि उजुरी दिएकी छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बम्जनका विषयमा यतिखेर कुनै आदेश नआएको बताए। ‘माथिबाटै छानविन भएको हो। अहिले केही छैन,’ उनले थपे।

सम्बन्धित शिर्षकहरु