काठमाडौं । दुर्घटना बढाएर दिउँसोको समयमा रिङरोडभित्र प्रवेश रोक लगाएको टिपरले अब दिउँसोमा पनि चल्न पाउने भएका छन् । अब हरेक दिन बढीमा ४० वटा टिपर दिउँसोको समयमा रिङरोडभित्र प्रवेश गर्न पाउने भएका छन्।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने सिलसिलामा वैशाख १३ गते शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
निर्णय अनुसार प्रदूषण जाँचपास परीक्षण प्रयोजनका लागि भक्तपुर नाकाबाट प्रत्येक दिन अधिकतम २० वटा र कलंकी नाकाबाट अधिकतम २० वटालाई तत् तत् नाकाको ट्राफिक प्रहरीले व्यहोरा समेत उल्लेख गरी प्रवेश पास उपलव्ध गराउने छ।
त्यसैगरी गोंगबु बसपार्क बाहेक कलंकी चोक र त्यसको आसपास एवम् गौशाला चोक र त्यसको आसपासका क्षेत्रहरुमा मध्यम तथा लामो दुरीका सवारी साधनका यात्रु चढाउने ओराल्ने कार्य वैशाख २२ गते आइतबारदेखि पूर्ण रुपमा निषेध गरिएको छ।








