काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमवारशिवरात्रीको दिन पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ। पशुपति क्षेत्रमा पूजाआज गर्ने आवत जावत गर्नेको भीडलाई मध्यनजर गर्दै प्रहरीले सवारी आवागमनको रुट समेत निर्धारण गरेको छ। प्रहरी तय गरेको रुट अनुसार चावहिलबाट गौशाला, पूरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ।
दर्शन मार्ग
मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक÷एक गरी दुई, जयवागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक-एक गरी दुई लाइनको व्यवस्था गरिएको सदस्य–सचिव ढकालले बताउनुभयो ।
भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राममन्दिरतिरबाट समेत एक लाइनको व्यवस्था गरिने छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चावहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिनेछ ।
हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन गर्नेछन् । आइतबारदेखि नै पश्चिम मूल ढोकाअघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन गरिनेछ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ ।









