काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीलाई एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको चितामा अन्त्यष्टि गरिएको छ। उनलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिए। काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राति ९ बजेर ३५ मिनेटमा उनको निधन भएको थियो।
अन्तिम श्रद्धाञ्जली दिनका लागि अधिकारीको पार्थिव शरीर आज बिहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
८२ वर्षीय अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका अधिकारी वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए ।
दिवंगत नेता अधिकारीका श्रीमती र तीन छोरी रहेका छन् ।








