काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका पाँच जनाको शव चिनिने अवस्थामा नरहेपछि डिएन परीक्षण गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबीन्द्र अधिकारी र उनका सुरक्षा गार्डको मात्र शव चिन्न सक्ने अवस्थामा रहेको बताइएको छ ।
अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृतकको पोष्टमार्टम भइरहेको छ । पोष्टमार्टमका लागि डा.रामप्रसाद उप्रेतीलगायत सात जनाको टोली खटिएको छ । डा. उप्रेतीले नचिनिने अवस्थामा रहेका शवको डिएनए परीक्षण गरेर पहिचान गर्ने जानकारी दिए । आजै पोष्टमार्टम र डिएनएको रिपोर्ट दिन सक्ने अवस्था नरहेकाले भोलि बिहान मात्र मृतकका परिवारलाई शव बुझाउन सकिने सम्भावना रहेको बताए ।








