सांगठनिक एकता टुङ्गो लगाउन गठित नेकपाको कार्यदल अलपत्र…,एकतालाई पूर्णता कहिले ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साङ्गठनिक एकताको टुङ्गो लगाउन गठन गरिएको ९ सदस्सीय कार्यदल अलपत्र परेको छ । गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीच एकीकरणको घोषणा गर्दै तीन महिनाभित्र सबै तहको साङ्गठानिक एकतालाई पूर्णता दिने भनिएको थियो । तर एकीकरण भएको नौ महिना पुग्दा पनि एकता प्रक्रिया टुङ्गो लाग्न सकेको छैन् ।

पार्टीको मूल कमिटीबीच एकीकरणको घोषणा भएपछि बाँकी रहेका सङ्गठनको एकता टुङ्गो लगाउन विभिन्न कार्यदल गठन भए पनि निष्कर्षमा पुग्न सकेको छैन् । गत पुस १३ गते सम्पन्न पार्टीको स्थायी कमिटीको बैठकले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय शक्तिशाली कार्यदल गठन गरेको थियो । तर सो कार्यदलले पनि सांगठनिक एकतालाई टुङ्गो लगाउन नसक्ने स्थिति उत्पन्न भएको छ । कार्यदललाई पुस मसान्तसम्म एकीकरणका लागि गृहकार्य गरी प्रतिवेदन बुझाउन स्थायी कमिटी बैठकले निर्देशन दिएको थियो ।

तर,पुस मसान्तभित्र काम असफल भएपछि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले १० दिनको म्याद थप्ने निर्णय गरेका थिए । सो अवधिमा पनि कार्यदल काम गर्न असफल भएको छ । कार्यदलमा रहेका एक सदस्यका अनुसार सतहमा कार्यदलमा रहेका मन्त्रीहरुको कार्यव्यस्थताको कारण ढिलाई भएको जस्तो देखिएपनि आन्तरिक रुपमा भने सांगठनिक एकतामा जटिल विवाद भएको कारण ढिलाई भईरहेको बताए । कार्यदलमा रहेका नौ जना सदस्यमध्ये रामबहादुर थापा, वर्षमान पुन, रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्री र शङ्कर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री हुन् ।

कार्यदल गठन भएको १ महिना बितिसक्दा पनि हालसम्म सातवटा बैठक मात्र बसेको छ । तर, हालसम्म कुनै निष्कर्षमा पुगेको छैन । एकीकरणका लागि मापदण्ड बनाएर छलफल सुरु भएको छ तर टुङ्गो नलागेको एक जना सदस्यले जानकारी दिए । पछिल्लो बैठक माघ ७ गते बसेको थियो । हालसम्म पार्टीको मूल कमिटी र प्रदेश कमिटीको एकता मात्र टुङ्गो लागेको छ । जिल्ला, स्थानीय तह तथा भ्रातृ सङ्गठन, विभाग, समितिहरुको बीचमा एकीकरण टुङ्गो लगाउन बाँकी छ ।

सम्बन्धित शिर्षकहरु