काठमाडौ । अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज (शनिबार) काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । सोलिडारिटी फर डा केसी एलाइन्सको आह्रवानमा भएको प्रर्दशनमा विवेकशील साझा पार्टी, नेपाली कांग्रेस र विवेकशील पार्टीका कार्यकर्ताहरु मात्रै सहभागी थिए ।
शनिबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शनको व्यापक तयारी गरिएको थियो । डा.केसी समर्थक, नेपाली कांग्रेस र विवेकशील पार्टीका कार्यकर्ताहरुले शुक्रबारबाटै प्रर्दशन भव्य बनाउनलाई तयारी गरेका थिए । तर, शनिबारको प्रर्दशनमा प्रभावकारी हुन सकेन ।
प्रर्दशनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुको बाग्लो उपस्थीति रहेको थियो । प्रर्दशनमा भर्खर विवेकशील साझा पार्टी फुटाएर विवेकशील पार्टी बनाएका उज्वल थापा आफै उपस्थीत थिए भने रबिन्द्र मिश्र निकट विवेकशील साझाका नेताहरुको उपस्थीति थियो ।
प्रर्दशनकारीहरुले सरकार बिरुद्ध उत्तेजित नाराबाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डलाई माफियाको संरक्षक र भ्रष्ट भन्दै नारा लगाएका थिए ।
प्रर्दशनकारीहरुले ‘कान खोली सुन ओली र प्रचण्ड तिम्रो मार्सी भातले समाजवाद आउँदैन, चारैतिर प्रष्ट छ दुईतिहाइ सरकार भ्रष्ट छ’, ‘जिकेसीको अनसन माफियालाई टेन्सन’, ‘माफियाका ताँती ओली सरकारका साथी’ लगायतका लेखिएका प्लेकार्ड बोकेका थिए ।








