काठमाडौंं । रातिमात्र मादक पदार्थ सेवन (मापसे)सम्बन्धी कारबाही गर्दै आएको ट्राफिक प्रहरीले दिउँसो पनि जाँच गर्ने भएको हो । यसअघि साँझ र रातिको समयमा मापसे जाँच हुँदै आएकोमा सवारी दुर्घटनालाई ध्यानमा राख्दै अब दिउँसो समेत सुरु गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा दिउँसोमा विभिन्न स्थानमा मापसे जाँच थालेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । पहिलो चरणमा दिउँसो दुई समूह प्रहरी परिचालन गरिएकाले आवश्यकताअनुसार टोली थपेर कडाइ गरिने प्रहरीले जनाएको छ । यसअघि प्रहरीले राति ७ देखि १० बजेसम्म पहिलो चरणमा र राति ११ बजेदेखि १ बजेसम्म दोस्रो चरणमा गरेर एक रातमा ५० बढी स्थानमा मापसे चेकजाँच हुँदै आएको थियो ।
मदिरा पिएका सवारी चालक भेटिए सवारी अनुमतिपत्रमा जरिवाना तिराएर प्वाल पार्दै आएको प्रहरीले पाँच पटकसम्म प्वाल परेपछि अर्को पटक भेटिएमा अनुमतिपत्र नै निलम्बन गर्ने गरिएको जनाएको छ । जाँचमा दैनिक करीब ८० देखि १०० जनासम्म मापसे गरेर सवारी चलाउँदै आएका चालक भेटिने गरेको छ । अब दिउँसोमा यस्तो जाँच थालेपछि संख्या बढ्ने ट्राफिक प्रहरी महाशाखाको भनाइ छ ।








