गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा,असार १० गते उपत्यका बन्द आह्वान

काठमाडौं । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन्। विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरिएको जानकारी गराएको हो। समितिले सो विधेयकको विरोधमा असार २ गतेबाटै चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

असार २ गते सो विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोध सभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्टा बजाउनेलगायतका विरोधका कार्यक्रम तय गरिएको छ।गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ ।

५ गते साँझ वसन्तपुरमा विरोधसभा गर्ने, ६ गते अन्र्तक्रिया, ७ गते गुठी ऐनको विरोधमा विरोध सभ गर्ने, ८ गते देशभरका मठ मन्दिरमा ध्यान पूजा पाठ गर्ने, ९ गते रत्नपार्कमा कोणसभा गर्ने समितिका महासचिव रोशन जंग बस्नेतले जनाएको छ ।

यसैगरी, १० गते गुठी विधेयकविरद्ध देशभर कडा आन्दोलन गर्ने समितिका महासचिव बस्नेतले जानकारी दिए । समितिका सभापति सागर थापाले देशमा धर्मसंस्कृतिविरद्ध श्रृंखलावद्ध आक्रमण भएकाले सबै एकजुट भएर कडा संघर्षमा उत्रने बेला आएको बताए । देशमा धर्ममाथि प्रहार गर्ने षड्यन्त्रका कारण राष्ट्रियता र देशको अस्तित्वनै खतरामा परेकाले सबै सचेत हुनुपर्ने बताए ।

विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले धर्म नरहे देशकै अस्तित्व सकिने भन्दै वर्तमान सरकार धर्मनाशमा लागेको आरोप लगाए । हिन्दु धर्ममाथि बाह्य इशारामा निरन्तर प्रहार भइरहेकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।

पशुपति भण्डारी सेवा समाजका अध्यक्ष केदारमान भण्डारीले धर्मको रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । उनले हिन्दु धर्मविरुद्ध नियोजित रुपमा आक्रमण हुँदै आएको बताए ।

स्वामी रामबाबाले धर्मनाश गर्ने उद्देश्यले गुठी प्रथा सक्ने क्रियाकलाप भएको बताए । बैकटेश्वर पिठाधिष स्वामी पद्मधराचार्यले लामो योजना अनुसार अहिलेका गतिविधि भइरहेको बताए ।

कार्यक्रममा विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले विधेयक फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न तयार हुन भनिन् । देशमा भूमाफियाको इशारामा सरकार चलिरहेको भन्दै नेपाली जनता अब चुप लागेर नबस्ने बताइन् ।

सम्बन्धित शिर्षकहरु