काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेमश चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएका छन् । सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि सांसदको सपथ लिंदै फेरि कारागारमै पुगेका छन् ।
कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशमकुमार चौधरीलाई सिंहदरबारमा सपथ खुवाए लगत्तै डिल्लीबजारस्थित सदर खोर लगिएको छ ।
टीकापुर हत्याकाण्डमा हाल डिल्लीबजारस्थित सदरखोरमा पुर्पक्षका लागि जेलमा रहेका चौधरीलाई राजपा नेपालको दवावमा पद तथा गोपनियताको सपथ दिलाइएको हो । डिल्लीबजार कारागारबाट सपथका लागि सिंहदरबार पुगेका चौधरीले सपथपछि कानूनी प्रश्न तेस्र्याएका छन् । उनले आफूले पाएको सांसदको लोगो देखाउँदै भने, ‘यो लोगो सांसदको लोहो हो, यो लोगो सरकारले लगाई दिएपछि फेरि कारागार पठाउन मिल्छ ?’
सांसदको लोगोको इज्जत र सम्मानका बारेमा राज्य र सरकार जानकार रहेको बताउँदै चौधरीले सभामुखले सपथ खुवाएर सांसदको लोगो दिएका सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्नेबारे संसदले बोल्नु पर्ने बताए । प्रतिनिधिसभा निर्वाचनबाट सांसदमा निर्वाचित भएको एक वर्षपछि पद तथा गोपनीयताको सपथ लिंदै चौधरीले भने, ‘नेपालको कानुनमा कुनै पनि व्यक्तिलाई साढे ३ वर्षसम्म पुर्पक्षका लागि थुनामा राख्न पाइँदैन । हामी साढे ३ वर्षदेखि कारागारमा छौं ।
हाम्रा दर्जनौं साथीहरु निर्वासनमा छन् । न्यायालयले हामीलाई न्याय दिनुपर्छ । छिटोभन्दा छिटो टुंगो लगाउनु पर्छ । जेलमा रहेका साथीहरुलाई झुटा अभियोग लगाइएको छ । शान्ति बिना समृद्धि आउँदैन । समृद्धिका लागि जनतालाई न्याय दिनुपर्छ ।’
उनले आफूहरु लामो समयदेखि न्यायको पर्खाइमा रहेको बताउँदै सांसद चौधरीले भने, ‘म सर्वसाधारण कैदीको जस्तै जीवनयापन गरिराखेको छु । कुनै सुख सुविधा लिएको छैन । अहिले पनि यो माला र खादा लगाएर जेल जानुपर्छ होला । मात्रै एउटा प्रश्न छ–मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ ?’








