काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र जेबिल्स फाइनान्सको शेयर आजदेखि लिलाम बढाबढमा बिक्रीका लागि खुल्ला हुने भएको छ । लुम्बिनीका करिब ३ लाख ४४ हजार र जेबिल्स फाइनान्सको ९ लाख ९७ हजार कित्ता गरि करिब १२ लाख ४१ हजार कित्ता शेयर आजदेखि लिलामीक लागि खुल्ला हुँदैछ ।
लिलामीमा आएका शेयरमध्ये लुम्बिनी विकास बैंकको सबै शेयर संस्थापक समूहको छ । लुम्बिनी विकास बैंकले यसअघि संस्थापक शेयरधनीलाई खुलाएको अक्सनमा करिब २५ हजार कित्ता मात्र शेयरका लागि आवेदन परेपछि बाँकी शेयर सर्वसाधारणका लागि खुल्ला गरेको हो । त्यस्तै, जेविल्स फाइनान्सको करिब ६ लाख ६६ हजार कित्ता प्रोमोटर र ३ लाख ३१ हजार कित्ता शेयर साधारण समूहका छन् ।
कति आवेदन गर्ने मूल्य
लुम्बिनी विकास बैंक लिमिटेडको संस्थापक समूहको मात्र शेयर बिक्रीका लागि खुल्ला गरिएको छ । यो स्क्रिपको मुल्य दोस्रो बजारमा प्रतिकित्ता ११५ रुपैंया छ । जेबिल्स फाइनान्सको भने साधारण शेयरकै मूल्य दोस्रो बजारमा ९७ रुपैंयामा कारोबार भइरहेको छ ।
दुवै शेयरका लागि न्यूनतम १०० रुपैंया मूल्य तोकिएको छ । लुम्बिनी विकास बैंकको शेयरका लागि बजार मूल्यमा केही प्रतिशत कम मूल्य राखेर आवेदन गर्न उपयुक्त हुन्छ भने जेबिल्स फाइनान्सको शेयरका लागि भने आवेदन नै नपर्ने सम्भावना देखिन्छ । यद्यपि लिलामीका अन्तिम दिनसम्म बजारमा उच्च सुधार आई सम्बन्धित कम्पनीको मूल्य बढेमा भने लगानीकर्ताको आकर्षण यो शेयरमा पनि पर्न सक्छ ।
जेबिल्सको शेयरका लागि पुस १७ गते र लुम्बिनीको शेयरका लागि यही २५ गतेसम्म आवेदन दिन सकिन्छ । जेबिल्सको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ भने लुम्बिनीको बिक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ ।








