
काठमाडौं । ४१ वटा व्यावसायिक फर्म र ७७ जना व्यक्तिले राजस्व चुहावट गरेको दाबी गर्दै राजस्व अनुसन्धान विभागले विभिन्न मितिमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
विभागलाई अर्थ मन्त्रालय मातहतबाट झिकेर प्रधानमन्त्री कार्यालय मातहत ल्याइएपछि दायर गरिएको यो नै सबैभन्दा ठूलो मुद्दा हो । मुद्दामा पाँच अर्ब ७७ करोड बिगो र सजाय माग गरिएको छ ।
विभागका अनुसार पाँच अर्ब एक करोड २० लाख ७४ हजार दुई सय २८ रुपैयाँ बिगो तथा तीन वर्ष कैद सजाय माग गरिएको छ ।
त्यस्तै ती ४१ वटा फर्मबाट दुई अर्ब ५१ करोड ५६ लाख १४ हजार सात सय ७५ रुपैयाँ धरौटी माग गरिएको छ । मुद्दा दायर गरिएकाहरुमा हिमालय कार्गोका विनोद कुमार गुप्ता र मधुकुमारी गुप्ता छन् ।
उनीहरुसँग दुई अर्ब ७२ करोड असुल गर्न र तीन वर्ष कैद गर्न माग गरिएको छ । त्यस्तै, दूध तथा घिउको नक्कली भन्सार प्रज्ञापनपत्र बनाई चोरी पैठारी गर्ने तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलको सम्बन्धमा रविन्द्र गुप्तासहित २२ जनाविरुद्ध १० करोड २० लाख रुपैयाँ छली गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।
यसरी मुद्दा दायर भएकाहरुमा रविन्द्र गुप्ताको साथै वीरेन्द्र गुप्ता, राहुल कुमार गुप्ता, मधुकुमारी चौधरी, विनोद गुप्ता, यम बहादुर विक, अशोक कुमार दुबे, घनश्याम शर्मा, मिनबहादुर तामाङ्ग, जनार्दन आचार्य, बटुकृष्ण अधिकारी, बसन्त कुमार सुवेदी, दिनेश कुमार बानियाँ, चन्द्र बहादुर क्षेत्री, जितबहादुर श्रेष्ठ, रामबहादुर थापा, मुकेश शर्मा, रोहित अग्रवाल, शिवराज भट्टराई, सफला महत, हरि बयलकोटी र सुनिता न्यौपाने छन् ।
तीन किलो सुन भन्सार छली गरेर आयात गरेको भन्दै विभागले गत साउन २५ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर भएकाहरुमा दीपक कुमार मौर्यसहित छ जना, छ किलो अवैध सुन आयातमा तेन्जिङ्ग तामाङ्गलाई पनि बिगो र जरिवाना तथा तीन वर्षको कैद सजायँ माग गरिएको छ । हिरा चोरीमा रमेश रजकसहित आठ जनाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
छाला भनेर मरिच निकासी गर्ने सञ्जय अग्रवाल, रामशंकर यादव, धर्मेन्द्र कुमार र राजकुमार गुप्तालाई पनि बिगो र जरिवाना माग गर्दै तीन वर्ष कैदको पनि माग गरिएको छ ।
त्यस्तै, अर्काको फर्म प्रयोग गरेर राजस्व चुहावट गर्ने, भन्सार छली गर्नेहरुविरुद्ध पनि विभिन्न मितिमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । (आर्थिक दैनिकबाट)








