काठमाडौं । हिंसात्मक जनयुध्दका बेला पुष्पकमल दाहाल र बाबुराम भट्टराईका सहयोध्दा रहेका एक नेताले नेताहरु रातारात कसरी धनी भए भनेर सार्बजनिक सभामा प्रश्न गरेका छन् । उनले हिजोसम्म केही पनि नभएका नेताहरुसँग यति धेरै धनसम्पत्ति कसरी आयो भन्ने प्रश्न गर्दै जनताले सबैको हिसाबकिताब गर्ने चेतावनी पनि दिएका छन् ।
पुष्पकमल दाहाल नेतृत्वको माओवादीबाट अलग्गिएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले शनिबार राजधानीमा आयोजित सभामा यसरी प्रश्न गरेका हुन् ।
नेताहरु रातारात धनी कसरी भए भन्दै विश्वकर्माले प्रश्न गरे। ‘हिजो केही नभएकाहरु आज कसरी धनी भएका छन्’? उनको प्रश्न छ। हिजो केही नभएका नेताहरु आज कसरी रातारात धनी भए उनले भने,जनताले हिसाव खोज्ने छन्। राष्ट्रलाई मुक्ति गर्नको लागि अन्तिम आन्दोलन जरुरी भएको उनले बताए। उनले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप पनि लगाएका छन्।
विश्वकर्माले ९ महिना सम्म सरकारले कुनै काम गर्न सक्दा सरकारको रुप जनताले चाल पाइसकेको बताए। विश्वकर्माले भने, देश अहिले विदेशीको नियन्त्रणमा जस्तो देखिएको छ,सरकारले विदेशीको चाकरी भन्दा अरु केही गरेको छैन।
यतिबेला देशलाई खण्डित बनाउने षडयन्त्रहरु चलिरहेको बताए। तराई, पहाड, हिमालका नाममा खण्डित गर्न खोजिएको उनको भनाई छ। राष्ट्रघातिहरुका विरुद्ध सवै नेपाली जनता सेना हुन जरुरी भएको भन्दै आह्वान गरे।
शान्ति बाटिकामा कार्यक्रम गर्ने भन्दा सरकारले बखेडा झिकेको समेत उनले बताए। ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा दिने सरकारले सभा गर्ने ठाउँ दिन किन सक्दैन ? भन्दै उनले प्रश्न गरे।








