यसरी बनाउनुहोस् मुलाको अचार (विधिसहित)

काठमाडौं । नेपाली भान्सामा अचार महत्वपूर्ण परिकार मानिन्छ । दैनिक जीवनको खानपान लगायत भोज भतेरमा समेत अचारको छुट्टै महत्व हुन्छ । अचारले संगै खाइरहेको परिकारमा नयाँ स्वाद थपिदिन्छ । मासु, तरकारी तथा फलफूलबाट पनि अचार बनाउन सकिन्छ। अचार एउटा ताजा हुन्छ भने अर्को बोतलमा केही समय आगाडी बनाएर राखिएको हुन्छ, जसलाई खाँदेको अचार भनिन्छ।

खाँदेको मुलाको अचार बनाउनको लागि आवश्यक सामग्री

बोक्रा नखुर्किएको मुला

तेल, बेसार, रातो खुर्सानीको धुलो, नुन

लसुन, हरियो खुर्सानी, जिरा, तोरी

विधि

मुलालाई लाम्चो आकारमा काट्नुपर्छ ।

मुला काटेपछि त्यसलाई घाममा सुकाउने ।

मुला माथि खुर्सानी राख्ने र त्यसमा लसुन पनि राखेर सुकाउने ।

त्यसलाई दुई दिनसम्म सुकाउनुपर्छ ।

दुई दिनपछि सुकाएको मुला, खुर्सानी, लसुन निकाल्ने ।

प्यानमा तोरी भुटेर पिस्ने ।

अब जिरा भुट्ने र पिस्ने ।

मुलामा नुन, खुर्सानी, बेसार लगायत सबै मसलाहरु राख्ने ।

अब त्यसमा तेल राख्ने र राम्रोसंग मिक्स गर्ने ।

त्यसपछि एउटा बट्टामा मुलाको अचार राख्ने ।

बट्टालाई घाममा कम्तिमा पनि चार दिन सम्म नचलाई राख्नुपर्छ ।

मुलाको अचार बनाउने विधि

आवश्यक सामग्री

– दुईवटा मुला

– आधा चम्चा रातो खुर्सानीको धूलो

– आचा चम्चा बेसार

– थोरै हिङ

– आधा चम्चा अजवाइन

– आधा चम्चा मेथी

– एक ठूलो चम्चा रायोको दाना

– एक ठूलो चम्चा सौप

– १-२ चम्चा नुन

– आवश्यकताअनुसार तोरीको तेल

बनाउने विधि
सबैभन्दा पहिले मुलालाई राम्रोसँग पखालेर सुकाउनुपर्छ।सुकेको मुलालाई मसिनो र एकनासको टुक्रामा काट्नुपर्छ।टुक्रा पारिएको मुलामा नुन राखेर दुई घन्टा जति घाममा राख्नुपर्छ। एउटा कराइमा तेल राखेर चुलोमा राख्ने। तेल तातीसकेपछि त्यसमा मेथी,अजवाइन,रायोको दाना र सौफ राखेर हल्का भुट्नुपर्छ।यसरी भुटिएको मसलालाई एउटा भाँडोमा राख्ने।

फेरि त्यही कराइमा तेल राख्ने। तेल तातीसकेपछि मसिनो गरी काटिएको मुला राख्ने। हल्का आँचमा दुई मिनेटजति भुटिसकेपछि बन्द गर्ने।भुटिसकेको मुला चिसो भएपछि त्यसमा अघि तयार पारिएको मसला,हिङ,बेसा,खुर्सानीको धूलो, र आवश्यकअनुसार नुन मिसाउने। मुलाको अचार दुई तीन दिन घाममा राखेपछि खानलायक हुन्छ।

सम्बन्धित शिर्षकहरु