काठमाडौं । स्वामी आनन्द अरुण संस्थापक रहेको ओशो तपोवनलाई दिइएको ३७ रोपनी वनक्षेत्र शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जले फिर्ता लिएको छ । धार्मिक वनका रुपमा उपभोग गर्न दिइएको ३७ रोपनी वन क्षेत्रमा ओशो तपोवनका सञ्चालकले सडक निर्माण गरेपछि फिर्ता लिनुपरेको जानकरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुवँवरले जानकारी दिनुभयो ।
‘२०६२ सालमा धार्मिक वनका रुपमा उपभोग गर्न दिइएको क्षेत्रमा नियमविपरित सडक निर्माण गरेको भेटियो’, कुवँरले भन्नुभयो, ‘धार्मिक वनक्षेत्रमा वातावरणमा प्रतिकूल असर पर्ने खालको गतिविधि भएपछि स्पष्टिकरण सोधेका थियौँ, तर चित्त बुझ्दो जवाफ आए । सडक निर्माणले वन क्षेत्रमा भूक्षय हुने सम्भावना देखिएपछि फिर्ता लिएका हौँ ।’
कुँवरका अनुसार ओशो तपोवनले धार्मिक वनमा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ विपरित गतिविधि गरेको पाइएपछि फिर्ता गरिएको पत्र बिहीबार ओशो तपोवनलाई पठाइएको जानकारी पनि दिएका छन् ।
कुवँरका अनुसार उक्त पत्र तपोवन व्यवस्थापनले बुझिसकेको छ । ओशो तपोवन व्यवस्थापनबाट मध्यवर्ती क्षेत्रको उक्त वन फिर्ता लिएपछि बनाइएको सडक भत्काउन सडक विभागलाई भनिएको कुवँरले बताउनु भयो । ‘धार्मिक वन धार्मिक काममै प्रयोग हुनुपर्छ, नियमविपरित सडक नै बनाइएकाले भत्काएर वन क्षेत्र नै कायम गर्न सडक विभागलाई भनिसकेका छौँ,’ उहाँले भन्नुभयो ।
कुँवरका अनुसार मध्यवर्ती क्षेत्रको उक्त वन क्षेत्र निजी जग्गासँग पनि पनि जोडिएको छ । निकुञ्जसँग पनि जोडिएको यो वन क्षेत्र अब सामुदायिक वनलाई जिम्मा लगाउन लागिएको छ । ‘ओशो तपोवनबाट फिर्ता लिएपछि अब यो वन क्षेत्र स्थानीय मुर्कु सिर्जनशील महिला सामुदायिक वन उपभोक्ताा समूहलई हस्तान्तरण गर्छौँ’, कुवँरले भन्नुभयो ।








