काठमाडौंमा टिपरलाई दिउँसो चल्न लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी

काठमाडौं । सरकारले काठमाडौं भित्र टिपरलाई दिउँसोमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ हुने देखिएपछि टिपरमा लगाइएको प्रतिबन्ध फुकवा गर्न लागेको हो । पहिलो चरणमा शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाको २४ वटा टिपरलाई नम्बर उल्लेख गरेर चल्न दिने निर्णय भएको छ ।

टिपरका कारण दुर्घटना बढेर मानवीय क्षतिसमेत भएपछि गृह मन्त्रालयले विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म काठमाडौं उपत्यकामा टिपर सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । शुक्रबार गृह मन्त्रालयमा भएको छलफलपछि शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाका २४ वटा टिपर दिउँसो चल्न छुट दिईएको छ । आयोजनाको काम आउँदो डिसेम्बरसम्म सक्नुपर्ने हुनाले दिउँसोको समयमा पनि टिपर सञ्चालन गर्न लागिएको जनाईएको छ ।

चक्रपथ सुधार आयोजनाका लागि वैकल्पिक मार्गबाट टिपर चलाउन सकिन्छ कि भनेर लामाटार र लाकुरीभञ्ज्याङको सडक हेर्दा ती सडकबाट टिपर चलाउन नसकिने देखेपछि मूल बनेपा भक्तपुरको जगाती हुँदै काठमाडौं भित्रने सडकमै टिपरलाई प्रतिबन्ध फुकुवा गरिएको हो । १० दिनको नतिजा हेरेपछि टिपरलाई लगाइएको प्रतिबन्ध फुकुवा गर्ने वा नगर्ने निर्णय हुने गृह मन्त्रालयको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु