काठमाडौं । बालक अपहरण भएको हल्लाले प्रहरीलाई दिनभर तनाव भएको छ । बुधबार दिउँसो साढे २ बजेको आसपासमा काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका भनि खबर फैलिएको थियो । तेज विनायक स्कुल नजिकबाट तीन जनाको समूहले गाडीमा राखेर लगेको हल्ला फैलिएसँगै
महानगरीय प्रहरी परिसार काठमाडौं, अपराध महाशाखा, प्रहरी प्रभाग काँडाघारी, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त गौशाला, प्रहरी वृत्त बौद्ध, प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी परिसर भक्तपुरबाट समेत प्रहरीको छुट्टा–छुट्टै टोली परिचालन भयो । घटनास्थलको सीसीटीभी फुटेज समेत अध्ययन गरियो । अपहरणमा परेको भनिएका बालकको पहिचान खोज्न स्थानीयसँग सूचना पनि संकलन थालियो । तर कसैले पनि आफ्नो बच्चा हराएको भन्दै प्रहरीलाई सूचना दिएन ।
खोजी शुरू गरिएको करीब २ घण्टासम्म पनि अपहरणमा परेको भनिएको बच्चाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि प्रहरीले कन्ट्रोल रुममा फोन गर्ने व्यक्तिको खोजी गर्यो ।
बालक अपहरणमा परेको भन्दै प्रहरीलाई फोन गर्ने व्यक्ति गोठाटारमै बस्ने स्थानीय रहेछन् । तर उनले आफूले बालकको अपरण भएको देखेका रहेनछन् ।
आफूलाई एकजना गाउँलेले बालक अपहरण भएको कुरा सुनाएपछि प्रहरीलाई खबर गरेको उनको जवाफ आयो । त्यसपछि प्रहरीले उनलाई सूचना दिने व्यक्तिको खोजी गर्यो ।
ती व्यक्तिले पनि आफूले बच्चा अपहरण भएको नदेखेको बताए । तर पसलमा हल्ला सुनेको प्रहरीलाई जानकारी दिए ।
प्रहरीले पसलमा सोधपुछ गर्यो । त्यसपछि पत्ता लाग्यो, एक ७० वर्षीया वृद्धाले बालकलाई २ जनाले गाडीमा हालेर लग्दै गरेको देखेकी रहिछन् । बालकलाई गाडीमा लग्दै गरेको देखेपछि उनलाई कसैले अपहरण पो गरेका हुन् कि भन्ने लागेछ । त्यसपछि उनले पसलमा भएका अन्य व्यक्तिसँग सुनाइन् । त्यसरी नै हल्ला फैलिएको थियो । अन्तिममा बालक अपहरणको वास्तविकता ७० वर्षीया वृद्धाको भ्रम मात्रै रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।








