काठमाडौं । सरकारले अस्लिल ‘इन्टरनेट वेबसाइट’हरुलाई बन्द गर्न निर्देशन दिएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अस्लिल ‘वेबसाइट’ बन्द गर्न शुक्रबार निर्देशन दिएका हुन्। पछिल्लो समय विभिन्न जिल्लामा बलात्कारका घटनामा बृद्धि भएका छन्, जसको एउटा कारण ‘पोर्न साइट’ को निर्वाध प्रयोग हो भन्ने मन्त्रालयको निष्कर्ष छ । विहीबार मात्र बर्दियामा एक १० बर्षे बालकले ७ बर्षीया बालिकालाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो ।
‘अनपेक्षित रुपमा जसरी देशभर बलात्कारका घटना भएका छन्, तिनमा ‘पोर्न साइट’ को पनि भूमिका छ भन्ने विश्लेषण मन्त्रालयको राजनीतिक नेतृत्वको छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसैले, त्यस्ता साइट बन्द गर्न मन्त्री बास्कोटाले कडा निर्देशन दिनु भएको छ ।’








