सुन तस्करी र सनम हत्याका अभियुक्त भनिएका एसएसपी लोहनी साधारण तारेखमा छुटे

काठमाडौं । साढे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा दोषी ठहर गर्दै पूर्पक्षका लागि थुनामा राखिएका महानगरीय अपराध महाशाखाका तत्कालिन एसएसपी दिवेश लोहनी साधारण तारेखमा छुटेका छन् ।

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि क्षेत्रीय कारागार झुमका सुनसरीमा रहेका लोहनीलाई उच्च अदालत बिराटनगरले साधारण तारेखमा छाड्न शुुुक्रबार आदेश दिएको थियो ।

२ नम्बर इजलासका न्यायाधीशद्वय सारङ्गा सुवेदीले र नागेन्द्रलाभ कर्णले जिल्ला अदालत मोरङले २८ जेठमा दिएको आदेशलाई उल्टयाउँदै साधारण तारेखमा छाड्न आदेश दिएका हुन् ।

लोहनीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारेखमा छाड्न माग गरी उच्च अदालतमा रिट दिएका थिए । सुन तस्करी र सनम हत्या प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितले दोषी देखाउँदै अभियोगपत्र दायर गरेपछि मोरङ अदालतले लोहनीलगायतका प्रहरी अधिकारीलाई थुनामा राख्ने आदेश दिएको थियो ।

सनमको लास लुकाउने र गोरे भनिने तस्करीका मुख्य नाईके भनिएका चुडामणी उप्रेतीलाई उम्काउनका लागि लोहनी नेतृत्वको प्रहरी टोली लागेको छानबिन समितिको ठहर थियो ।

सम्बन्धित शिर्षकहरु