
काठमाडौं । कालिका पावर कम्पनीको प्रतिकित्ता १०० रुपैंया अंकित १२ लाख कित्ता शेयर अर्थात् १२ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीऔ) मा निष्काशन भएको छ । आईपीओमा छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन गर्न सकिनेछ ।
कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल रहेका छन् ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आईपिओमा आवेदन गर्न सक्नेछन् । कुल निष्काशन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको कम्पनीले जनाएको छ ।
यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । साधारण शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए, जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।








