काठमाडौं । निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी छानबिन समितिमा फिर्ता भएका छन् । समितिले दोषी ठहर गर्न नसक्ने भएको भन्दै राजिनामा गरेका केसीले गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबाट राजिनामा फिर्ता लिएको जानकारी दिएका हुन् । आफूले छोड्दा अपराधी छुट्ने सम्भावना रहने भन्दै उनले नाटकीय रुपमा पुन: समितिमै रहेर काम गर्ने जनाएका हुन्।
गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी फिर्ता भएका हुन् । निर्मला पन्त हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा केसी प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट सदस्य थिए ।
केसीले छानबिन समितिमा रहेका बेला आफूले इमान्दारीपूर्वक काम गरेको भन्दै समितिको म्याद थपको विषयमा असहमति राख्दै जिम्मेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेको बुधबार विज्ञप्तिमार्फत जनाएका छन् ।
‘छानबिन समितिको म्याद थप लगायतका विषयमा मेरो विमती रही छानबिन समितिको जिमेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेकोमा मिति २०७५/०५/२७ गते गृह मन्त्रालय, उच्च स्तरीय छानबिन समितिका संयोजकसहित भएको छलफलबाट घटनाको सन्दर्भमा मन्त्रालय र मेरो समेत वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने उद्देश्य नै रहेको एकमत भएकाले राष्ट्रसेवकको रुपमा मलाई प्राप्त अवसर तथा कार्य जिम्मेवारीबाट अलग रहे भन्दा थप भएको कार्य अवधिमा छानबिन कार्यलाई पुनः संलग्न रही निष्पक्ष रुपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै सरकारले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आज मिति २०७५/०५/२७ गतेदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहने व्यहोरा जानकारी गराउँदछु’ केसीले विज्ञप्तिमा भनेका छन् ।
मंगलबार मात्रै पन्तको बलात्कार र हत्यामा संलग्न भनिएका अभियुक्त रिहा भएका थिए । प्रहरीले मुख्य अभियुक्त बनाएका दिलिपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो । यस्तै अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदीबहनीलाई पनि मंगलबार नै रिहा गरिएको छ ।









