रोल्पा । रोल्पाको सुलीचौरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । गोली प्रहारबाट रोल्पा नगरपालिका–२ घर भएका रोहित पुन मगरको मृत्यु भएको छ । पुन नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका नगर अध्यक्ष रहेको खुलेको छ ।
प्रहरीका अनुसार रोल्पा नगरपालिका–१० घर भएका देव बहादुर घर्तीमगरले अटो लोडेड पेस्तोलबाट पुनमाथि गोली चलाएका हुन् । गोली चलाउने घर्तीमगर पूर्व माओवादी कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । गोली लागेर ढलेका पुनलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र सुलीचौरमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रशासनका अनुसार रिसबाङका एक युवकको हत्या घटनामा जिल्ला कारागारमा कैदी रहेका पुन सरकारले माफी दिएपछि करिव एक वर्षअघि जेलमुक्त भएका थिए । गोली प्रहारको आरोपमा पक्राउ परेका घर्तीपनि विभिन्न घटनामा कारागारमा कैद भुक्तान गरी निस्किएको सुरक्षा स्रोतले जनाएको छ । घटनाको अनुसन्धान जारी छ । रिसइवीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ । घटनामा संलग्न केही युवा फरार रहेको प्रहरीले जनाएको छ ।








