काठमाडौं । दुई दिनदेखि नयाँ कानूनको विरोधमा सडक आन्दोलनरत गरिरहेका चिकित्सकहरुमो माग संशोधन गर्न सरकार सहमत भएको छ । मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सहमति जनाएका हुन् ।
मुलुकी अपराध संहिताको इलाजको महलमा डाक्टरको लापर्बाहीका कारण विरामीको मृत्यु भए जन्मकैदको व्यवस्था हुने भन्ने बुंदाको विरोधमा नेपाल चिकित्सक संघको आहृवानमा डाक्टरहरु आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलनरत डाक्टरसँग सोमबार भएको वार्तामा स्वास्थ्य राज्यमन्त्री यादवले संहितामा शब्द चयनमा कमजोरी भएको भन्दै त्यसलाई सुधार्न सकिने बताएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिएका छन् ।
‘आन्दोलन रोकिंदैन’
सरकारले मुलुकी संहिता संशोधन गर्न सहमति जनाए पनि चिकित्सक संघले आन्दोलन नरोक्ने जनाएको छ । संशोधन विधेयक संसदमा पेश नभएसम्म आन्दोलन नरोकिने अध्यक्ष श्रेष्ठले बताएका छन् । स्वास्थ्य मन्त्रालयले संशोधनको मस्यौदा कानून मन्त्रालयमा पठाउने सहमति भए पनि कानून मन्त्रालयबाट संशोधन विधेयक तयार भएर संसदमा पेश नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।








