नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भोलि साढे २ घण्टा बन्द हुने,यस्तो छ कारण

काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय उडान–अवतरण हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार साढे २ घण्टा बन्द हुने भएको छ । चौथो बिम्स्टेक सम्मेलनमा सहभागी हुन करिब दुई घन्टाको अन्तरालमा भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री नेपाल आउने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब साढे दुई घन्टाका लागि बन्द हुने विमानस्थल स्रोतले जनाएको छ ।

यसअघि मर्मतका लागि बेला बेला केही समय बन्द हुने विमानस्थल बिहीबार भने झण्डै साढे २ घण्टा बन्द हुने भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहिबार बिहान साढे ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । मोदी चार्टर फ्लाइटमार्फत आउन लागेको हुन् । मोदीको आगमन हुने समय भन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द हुने भएको छ ।

बिहान ८ बजेर १५ मिनेटदेखि सबै उडान बन्द गरिने विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोल (एटिसी) रुमका प्रमुख सीताराम भण्डारीले जानकारी दिए । यसैगरी ९ बजेर १५ मिनेटमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना विमान बंगालमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ । नियमित उडानमार्फत आउने भएपनि उनको आगमन समय भने केही अगाडि सरेको भण्डारीले जानकारी दिए ।

यस्तैगरी थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा बिहान १० बजेर १५ मिनेटमा काठमाडौं आइपुग्ने छन् । वचा चार्टर उडानमार्फत काठमाडौं आउन लागेका हुन् । यो बीचको समयमा आन्तरिक तर्फका करीव ३० उडान तथा अवतरण र अन्तर्राष्ट्रिय तर्फका २४ वटा उडान तथा अवतरण प्रभावित हुनेछन् ।

सम्बन्धित शिर्षकहरु