काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) की केन्द्रीय पोलिट व्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् । चर्चित माओवादी नेतृ भुजेल ‘शिलु’ लाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनलाई कहाँबाट पक्राउ गरिएको भन्ने कुरा गोप्य राखिएपनि उनी पक्राउ परेको उनको पारिवारिक स्रोतले दावी गरेको छ ।
गत वैशाख १ गते काभ्रको नमोबुद्ध नगरपालिका ६ स्थित एक पलमा आगजनी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। आगलागीबाट उक्त पसलमा १० करोड रुपैयाँभन्दा बढी क्षति भएको बताइएको छ। आगजनीमा संलग्न रहेकाको प्रहरीले खोजी गरिरहेको थियो।
भुजेललाई टेकुस्थित काठमाडौं प्रहरी कार्यालयमा राखिएको बताइएको छ। सोही मुद्दामा संलग्न रहेका विप्लव अझसम्म फरार रहेका छन्। जनयुद्धका बेला गोरखा जेल ब्रेक गरेर भुजेल चर्चामा आएकी थिइन्।








