काठमाडौं । आज भदौ एकदेखि देशले नयाँ कानून पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो । सो ऐन २०२० सालमा पहिलो पटक संसोधन गरिएको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
आजदेखि कार्यान्वयनमा आउने ऐनमा मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४, मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ रहेका छन् ।
मुलुकी ऐन कार्यान्वयनका लागि सवै तयारी पुरा भइसकेको सर्वोच्च अदालतले जनाएको छ । ऐन कार्यान्वयनका लागि तीनहजार एक सय कर्मचारीलाई तालीम दिइएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
यसैबीच यसै उपलक्ष्यमा कानुन तथा संसदीय मामीला मन्त्रालयद्वारा आजै दिउँसो दुईवजे बिशेष समारोहको आयोजना गरिएको उक्त मन्त्रालयका प्रवक्ता रमेशप्रसाद ढकालले पुष्टि गरे ।







