‘सत्ताको स्वाद चाखेका पूर्व माओवादीका नेताहरु सबै अर्बपती हुन्’

काठमाडौं । पूर्व माओवादी केन्द्र र पूर्व एमालेबीचको एकतामा असन्तुष्ट हुँदै अस्विकार गर्ने क्रम बढ्दो देखिएको छ । सोहीक्रममा आज पूर्व माओवादी केन्द्रका दर्जनौं नेता कार्यकर्ताहरुले माके–एमाले एकतामा नजाने घोषणा गर्दै बिमल अधिकारीको नेतृत्वमा ५१ सदस्यीय नेकपा (माओवादी ) को घोषणा गर्दै रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेका छन् ।

सो पत्रकार सम्मेलनमा पुर्नगठित नेकपा माओवादी केन्द्रका प्रदेश न. ५ का इन्चार्ज आलोक रायमाझीलाई पनि बधाई तथा शुभकामना दिन बोलाइएको थियो । उनले एकतालाई अस्विकार गर्ने नेता कार्यकर्ताहरुलाई बधाई तथा स्वागत गर्दै आफ्नो धारणा राख्दै वर्तमान सरकारमाथि दर्जनौं आरोप र चर्को आलोचना गरे । उनले भने, ‘कलियुगको महाभारत अब सुरु भैसक्यो, यो महाभारतको युद्धमा पूर्व कमरेड प्रचण्डले कृष्णलाई नरोजेर, फौजलाई मात्रै रोजे, हामीले फौज नरोजेर केबल कृष्णलाई रोज्यौ, कृष्ण भनेको विचार, सिद्धान्त र समयको अपरिहार्यता हो, त्यसैले हाम्रो जीत निश्चित छ । उनले अगाडि थपे, हार निश्चित छ भन्ने जान्दाजान्दै पनि मन नलागी नलागी युद्धमा होमिने कर्ण जस्तो नबन्नुस्, आधुनिक युगको कर्ण बन्न म कथित माके पिके का इमानदार नेताकार्यकर्ताहरु लाई आह्वान गर्न चाहान्छु ।’

प्रचण्ड, केपी लाई इङित गर्दै उनले भने, ‘तिमी कौरवहरु संग अहिले षड्यन्त्र र आपराधिक मानसिकताले भरिएको जत्था र फौज दुबै ठूलो छ, हामी पाण्डवहरु संग विचार, सिद्धान्त, निष्ठा र जनताप्रतिको लगाव छ, त्यसैले पनि जित हाम्रो पक्का छ ।’

सरकार प्रति कटाक्ष गर्दै उनले भने, ‘दलाल पुँजीवादी, नोकरशाही र नवऔपनिवेशिक सरकारका धृष्टरास्ट्र, शकुनि, दुर्योधन र दुस्सासनहरु अब तिम्रो पापको घडा भरिइसक्यो, तिमीहरूका दिनपनि सकिइसके अब तिम्रा अपराध र पापको एकएक हिसाब हुन्छ, हे नवबादशाहहरु तिम्रा महलका कुर्सीबाट पछारेर जनताले तिमीहरूलाई सडकमा फुटबल खेल्ने दिन धेरै टाढा छैन ।’

उनले पूर्व माओवादी केन्द्रका नेताहरूलाई गम्भीर आरोप लगाए, ‘प्रचण्ड कम्पनीका पूर्व माओवादीमा सत्ताको स्वाद चाखेका अधिकांश नेताहरु अर्बपति बनिसके, अहिले त्यो कालो धनलाइ कसरी सेतो बनाउने भनेर छट्पटाहटमा दर्जनौं व्यावसायको नौटंकि गरिरहेका छन्, तर हामी तिमीहरूलाई जनताको बीचमा नाङ्गो बनाएरै छाड्छौ ।’

सम्बन्धित शिर्षकहरु