गोसाइँकुण्ड जाने तयारीमा हुनुहुन्छ ? यस्तो छ खान,बस्नको लागि नयाँ दररेट (सूचीसहित)

रसुवा ।  जनैपूर्णिमाको अवसरका लाग्ने गोसाइँकुण्ड मेलाको लागि दररेट निर्धारण गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र व्यावसायीबीच भएको छलफलबाट मेलाको लागि नयाँ दररेट कायम गरिएको छ । जिल्लाको मिनिगोसाइँकुण्ड, देउराली, चन्दनबारी÷चोलाङपाटी, लौरीबिना र गोसाइँकुण्डमा सञ्चालित होटल तथा मेलाको बेलामा राखिने थर्पुमा बस्ने तीर्थयात्री ठगीमा पर्नबाट जोगाउन र मूल्यमा एकरुपता ल्याउनका लागि प्रत्येक वर्ष दररेट निर्धारण गर्ने गरिएको छ ।

दररेट निर्धारण गर्दा दूरीका हिसाबले टाढा रहेका स्थानमा बढी र नजिक रहेका स्थानका लागि कम मूल्य कायम गर्ने गरिएको समितिका अध्यक्ष संजिव डिएमले बताए । उनका अनुसार कालो चिया, दुध चिया, दाल,भात, तरकारी, तातोपानी र थर्पु तथा होटलमा बस्नका लागि मूल्यमा थपघट गरिएको छ । गत वर्षको तुलनामा यो वर्ष तातोपानी र कालो चियाको मूल्य घटाइएको छ । दुध चियामा पाँच रुपयाँ मूल्यवृद्धि गरिएको छ । मिनिगोसाइँकुण्डमा कालो चिया १५, दुधचिया २०, दाल भात तरकारी २२०, थर्पुमा सुत्दा प्रतिव्यक्ति २२५ होटलमा सुत्दा प्रतिव्यक्ति ३५० तिर्नुपर्छ ।

देउरालीमा कालो चिया २०, दुधचिया २५, दाल भात तरकारी २७५, थर्पुमा सुत्दा प्रतिव्यक्ति ३२५ होटलमा सुत्दा प्रतिव्यक्ति ४७५, चन्दनबारीमा कालो चिया २५, दुधचिया ४०, दाल भात तरकारी ३५०, थर्पुमा सुत्दा प्रतिव्यक्ति ४०० होटलमा सुत्दा प्रतिव्यक्ति ५०० तिर्नुपर्ने समितिले जनाएको छ ।

लौरीबिना र गोसाइँकुण्डमा कालो चिया ३०, दुधचिया ५०, दाल भात तरकारी ४५०, थर्पुमा सुत्दा प्रतिव्यक्ति ४५० होटलमा सुत्दा प्रतिव्यक्ति ६५० मूल्य कायम गरिएको समितिका अध्यक्ष डिएमले बताए ।

तीर्थयात्रीले तातोपानी पिउनका लागि चन्दनबारी र लौरीबिनामा १० तथा गोसाइँकुण्डमा १५ रुपयाँ तिर्नुपर्ने बताइएको छ । थर्पु सञ्चालन गर्ने व्यावसायीले घट्टेखोलामा ८५०, देउराली÷ढिम्सामा ९५०, चन्दनबारी÷चोलाङपाटीमा एक हजार ५०, बुद्धमन्दिरमा १२५०, गोसाइँकुण्डमा १३५० रुपयाँ तिर्नुपर्ने समितिले जनाएको छ ।

हिँडन् नसक्ने तीर्थयात्रीहरू घट्टेखोलादेखि गोसाइँकुण्डसम्म घोडामा जाने गर्दछन् । तीर्थयात्रीले घोडा चढेबापत घट्टेखोला–चन्दनबारी ३२५०, घटेटेखोला–बुद्धमन्दिर ५५००, घट्टेखोला–गोसाइँकुण्ड ६५०० तिनुपर्ने हुन्छ । देउराली–बुद्ध मन्दिर ५०००, देउराली–गोसाइँकुण्ड ६०००, चन्दनकारी–बुद्ध मन्दिर ४५००, चन्दनबारी–गोसाइँकुण्ड ५०००, चोलाङपाटी–बुद्ध मन्दिर ३५००, चोलाङपाटी–गोसाइँकुण्ड ५००० र दउराली–चोलाङपाटी २७५० रुपयाँ कायम गरिएको छ ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ मा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएसँगै तयारी थालिएको हो । यो वर्षको मेलामा धुन्चेदेखि गोसाइँकुण्डसम्म ६ स्थानमा स्वास्थ्य क्याम्प सञ्चालन गरिने समितिका अध्यक्ष सन्जिब डिएमले बताए ।

हिमालय उद्धार संघले गोसाइँकुण्ड, सक्षम नेपाल र नेपाल रेडक्रस सोसाइटीले बुद्ध मन्दिर, लौरीबिनामा पाटन स्वास्थ्य विज्ञान, मिनि गोसाइँकुण्डमा जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको कालिजंग गणले चन्दनबारी र चोलाङपाटीमा स्वास्थ्य क्याम राख्ने निर्णय गरेको छ ।

तीर्थयात्रीलाई यात्रामा सहजीकरण गर्नका लागि विभिन्न संघसंस्थाले स्वंयमसेवक परिचालन गर्ने बताएका छन् । यो वर्षको मेला यही साउन ३१ गतेदेखि भदौ १० गतेसम्म सञ्चालन हुनेछ । गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटलले खाना तथा बासका लागि सम्पूर्ण तयारी गरिसकेको बताएका छन् ।

-रेडियो रसुवा

सम्बन्धित शिर्षकहरु