काठमाडौं । नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन दोस्रोपटक पनि तोकिएको समयमा नहुने निश्चित भएको छ । माउ पार्टी कांग्रेसले विधान पारित नगर्दा सो समयमा पनि महाधिवेशन नहुने निश्चित भएको हो । नेविसंघ अध्यक्ष नैनसिंह महरले पार्टीले विधान पारित गरेर नदिँदा तोकिएको समयमा महाधिवेशन नहुने निश्चित भएको बताए । नेविसंघको केन्द्रीय कार्यसमिति बैठकले पहिलोपटक २३, २४ र २५ साउनमा महाधिवेशन तय गरेको थियो । त्यसवेला हुन नसकेपछि १६, १७ र १८ कात्तिकका लागि १२औँ महाधिवेशन गर्ने तय भएको थियो । अध्यक्ष महर भन्छन्, ‘पार्टीले विधान नदिँदा तोकिएको मितिमा महाधिवेशन गर्न नसकिने भइयो’
‘हामीले पार्टीलाई संगठनको विधान बुझाएको एक महिना पुग्यो । तर, पार्टीको केन्द्रीय कार्यसमितिले विधान पारित गरेर दिएन । जसका कारण अब तोकिएको समयमा महाधिवेशन हुने सम्भावना टरेको छ,’ अध्यक्ष महरले नयाँ पत्रिकासँग भने, ‘पार्टीले विधान पारित गरेर दिएपछि तत्काल महाधिवेशन गर्न हामी पुनः कार्यतालिका सार्वजनिक गर्छौँ ।’
२ मंसिरपछि कार्यसमिति स्वतः खारेज
विधानतः २ भदौमा म्याद सकिने ११औँ महाधिवेशनबाट महरको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद १ भदौमा कांग्रेस केन्द्रीय कार्यालयले तीन महिनाका लागि थपिदिएको थियो । नेविसंघ विधानमा पार्टीले निर्वाचित कार्यसमितिको दुई वर्षे कार्यकाल सकिएपछि तीन महिना थप्न सक्ने प्रावधान छ । विधानतः यो कार्यसमिति २ मंसिरपछि स्वतः खारेज हुनेछ । त्यसपछि पार्टीले तदर्थ समिति गठन गर्ने र त्यसले कार्यभार सम्हालेको ६ महिनाभित्र महाधिवेशन गरी निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गर्ने व्यवस्था विधानले गरेको छ ।
विधान पाएलगत्तै महाधिवेशन गरिने
अध्यक्ष महरले ढिलाइ पार्टीका कारण भएको भन्दै पार्टीले विधान पारित गरेर दिनेबित्तिकै महाधिवेशनको प्रक्रिया सुरु गर्ने बताए । ‘हामीले त विधानतः महाधिवेशन गर्ने तयारी गरी पास गर्न पार्टीलाई दिएका थियौँ,’ महरले भने, ‘तर, पार्टीले केन्द्रीय समितिको बैठकबाट पारित गरेर दिएन, विधान नै नभएपछि हामीले कसरी महाधिवेशनको प्रक्रिया सुरु गर्ने, विधान हामीले पाउनेबित्तिकै महाधिवेशनको प्रक्रिया सुरु गर्छौँ ।’ अहिले विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा एकमहिने दसैँ बिदा रहेकाले पनि अधिवेशन सम्पन्न गर्न सम्भव छैन ।
पौडेल स्वदेश फर्किएपछि बैठक
असन्तुष्ट नेता पौडेल यतिवेला विदेशमा छन् । उनी फर्किएपछि छलफल गरेर बैठक आह्वान हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाइ छ । ‘वरिष्ठ नेता विदेशमा हुनुहुन्छ, उहाँ स्वदेश फर्किएपछि छलफल गरेर मात्रै केन्द्रीय कार्यसमिति बैठक आह्वान हुन्छ,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘त्यही बैठकमा नेविसंघको विधान छलफल गरी आवश्यक प्रक्रिया पूरा गरेर पारित गरिन्छ ।’ ३० असोजमा चारधाम भ्रमण गर्न छोरा र पत्नीसहित गएका पौडेल १२ कात्तिकमा मात्रै फर्कनेछन् ।
नेविसंघ विवादले कांग्रेस बैठक अनिश्चित
यता, नेविसंघ विधानको विवादका कारण कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नै अनिश्चित बनेको छ । २१ असोजमा पार्टीको संस्थापन पक्षले ३२ वर्षे उमेरहदको प्रावधान पारित गरेपछि नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र कृष्णप्रसाद सिटौलाले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । त्यसपछि नेविसंघको पूर्ण विधान पारित गर्न भन्दै २५ असोजका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालयले २४ असोजमा अर्को सूचना जारी नभएसम्मका लागि भन्दै स्थागित ग¥यो । त्यसयता बैठक आह्वान भएको छैन ।आजको नयाँ पत्रिकामा खवर छ ।








