प्रधानमन्त्री र डा.केसीबीच दुर्इ घन्टा भेटवार्ता, सम्झौता कार्यान्वयन नगरे १६ औं अनशन बस्ने केसीको चेतावनी

काठमाडाैँ । चिकित्सा शिक्षा सुधारकाे माग गरिरहेका डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार दुर्इ घन्टा भेटवार्ता भएको छ। प्रधानमन्त्री निवासमा भएकाे छलफलमा डा.केसीले १५ अाैं अनसन ताेडाउन सरकारले गरेकाे सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पास गराउन  प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। १२ बजेदेखि २ बजेसम्म भएकाे भेटवार्तामा डा.केसीले सम्झौता शीघ्र कार्यान्वयन गर्न अाग्रह गरेका थिए।

‘सम्झौता जस्ताकाे तस्तै कार्यान्वयन हुनुपर्छ। त्यसमा तलमाथि गर्न पाइँदैन। तलमाथि गरे  १६ औं अनशन बस्छु भनेर सर (डा.केसी) ले भन्नुभयाे’, भेटवार्तामा साथै रहेका डा.केसीका सहयाेगी डा.अभिषेकराज सिंहले भने। जवाफमा प्रधानमन्त्री अाेलीले १६ अाैं अनसन बस्ने अवस्था अाउन नदिने प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्री ओलीले सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन पनि डा.केसीलार्इ गराएका थिए।

सम्झौता कार्यान्वयनकाे जिम्मेवारी पाएकाे शिक्षा मन्त्रालयले प्रक्रियामा ढिलाइ गरिरहेकाे विषय छलफलमा उठेकाे थियाे। जवाफमा प्रधानमन्त्रीले अाफूले बुझेर शीघ्र सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयकलार्इ अघि बढाउने जवाफ दिएकाे डा.सिंहले जानकारी दिए।

अन्य सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउन प्रधानमन्त्री ओलीले प्रस्ताव राखेका थिए। त्यस्ताे प्रस्ताव भने डा. केसीले अस्वीकार गरेका छन्। उनले त्यस्तो कमिटीमा आफ्ना प्रतिनिधि राख्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे।

अाफ्नो वार्ता टोलीसहित प्रधानमन्त्रीलाई भेट्न डा. केसी बालुवाटार पुगेका थिए। छलफलमा डा. केसीसहित डा. सुरेन्द्र भण्डारी, ओम प्रकाश अर्याल, डा. अभिषेक राज सिंह, बिशद दाहाल, डा.विश्वराज तिमिल्सिना, प्रितम सुवेदी थिए। भेटमा प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाल र प्रेस सल्लाकार डा. कुन्दन अर्याल सहभागी थिए।

सम्बन्धित शिर्षकहरु