पदबाट राजीनामा दिन्नँ, पेसी मै तोक्छु : जोशी

काठमाडौं । संसदीय सुनुवाइ समितिले इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशका लागि प्रस्तावित व्यक्तिलाई अस्वीकृत गरेको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीशसमेत रहेका दीपकराज जोशीको नाम समितिले एक हप्ताको रस्साकस्सीपछि शुक्रबार अस्वीकृत गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यसले न्याय क्षेत्रमा मात्र होइन, राजनीतिक वृत्तमा पनि तरंग ल्याएको छ । जोशीका फैसला विवादास्पद र शैक्षिक प्रमाणपत्र शंकास्पद देखिएको सुनुवाइ समितिको ठहर छ । उनको नाम अस्वीकृत गर्ने क्रममा सत्तारुढ र विपक्षी दलहरू विभाजित भए । समितिमा सत्तारुढ दलका सांसदको संख्या दुईतिहाइ थियो ।

संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताए ।

प्रधानन्यायाधीशमा अस्वीकृत भइसक्नुभयो अब के गर्नुहुन्छ भन्ने नयाँ पत्रिकाको प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अस्वीकृत भएर के भो र ? न्यायालयमै बसेर काम गर्छु । कामु प्रधानन्यायाधीश मै हुँ, मैले पेसी नतोके कसले तोक्छ ? संविधानको व्यवस्थाअनुसार पनि वरिष्ठ न्यायाधीशले नै पेसी तोक्छ ।’

प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीशका रूपमा कार्यरत रहने वा राजीनामा दिने विषयमा उनले बोल्न चाहेनन् । ‘यो विषयमा अहिले बोल्दिनँ,’ उनले भने ।

सम्बन्धित शिर्षकहरु