काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा नयाँ वानेश्वरमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रदेश नम्बर ३ र ४ का दुई मन्त्रीको गाडी तोडफोड भएको छ ।
प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनको ७२३४ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।
तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर इन्द्रेणी फुडल्याण्डकै बा ११ च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । फुडल्याण्डको सिसा फुटेको छ भने एक जना कर्मचारी समेत घाइते भएका छन् ।
डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा तरुण पनि सहभागी भएको छ । पछिल्लो समय केसीका पक्षमा गरिएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।








