काठमाडौं । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म आजदेखि टाइम कार्डको लागू गरिएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गरेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्नेछ ।
यस्तै महाशाखाले १ गतेदेखि नै जगाते–कोटेश्वर सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने गरी योजना बनाएको छ । भक्तपुरको साँगादेखि काठमाडौंको कोटेश्वरसम्मको करिब १५ किलोमिटर दुरी ५१ मिनेटमा पार गरिसक्नुपर्नेछ । यसका लागि प्रहरीले सवारी नम्बर सहितको टाईम कार्डको व्यवस्था गरेको छ । कार्डमा छुटेको समय, पुग्ने स्थान र ट्राफिक प्रहरी कार्यालयको छाप हुनेछ ।
टाईमकार्ड अनुसार साँगा–जगाती २० मिनेट, जगाती–ठिमी १७ मिनेट र ठिमी–कोटेश्वर १४ मिनेटमा पुग्नुपर्नेछ । दिउँसो १२ बजेदेखि ३ बजे सम्म र राति ८ बजेदेखि १० बजेसम्म टाईम कार्ड लागु गर्ने महाशाखाले जनाएको छ । टिपर, मालबाहक गाडी , बस र माईक्रो बस विस्तारै गुड्ने भएकाले सडकको दुवै तर्फको बायाँ लेन प्रयोग गर्नेछन् । साथै, निजी तथा साना सवारी साधनले सडकको दुवै तर्फको दायाँ लेन प्रयोग गर्नुपर्ने छ ।
मालबाहक बाहेकका अन्य सवारी साधन प्रति घण्टा ६० किलो मिटर गतिमा गुड्नुपर्नेछ । प्रहरीको तथ्यांक अनुसार २०७४ साउनदेखि २०७५ असार मसान्तसम्म यो सडकमा टिपरको ठक्करबाट ९ जनाको मृत्यु भएको छ ।








